धरान: प्रदेश नं १ को खेलकुदको राजधानी बनाउने लक्ष्य लिएर प्रदेश सरकारबाट विनियोजन गरिएको खेलग्रामको बजेट अर्कै शिर्षकमा सारिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलग्रामको ५ करोड बजेटले धरान रंगशालामा बहुउद्देश्यीय कभर्डहल बनाउने निर्णय गरेको खुलेको छ । मन्त्री घिमिरेको मन्त्रीस्तरीय यो निर्णयपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले धरान उपमहानगरपालिकालाई पनि सोही शिर्षकमा खर्च गर्न पत्र पठाएको छ । खेलग्रामको योजना नै तुहिने गरी मन्त्रालयबाट निर्णय भएपछि धरानमा भने असन्तुष्टी चुलिदो छ । आज यही बिषयमा धरानका मेयर, उपमेयरसहित नगर खेलकद विकास समितिको टोली मुख्यमन्त्री कार्यालयमा डेलिगेशन जाने भएका छन् ।

धरानमा खेलग्राम बनाउन प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेपछि समग्र खेल संरचनाहरुको एकीकृतरुपमा डिपिआर बनाउने काम भइरहेको छ । धरानमा खेलग्राम बनाउने नगर खेलकुद विकास समितिको प्रस्तावलाई कार्यपालिका बैठकले पारित गरेर प्रदेश सरकारमा पठाएको थियो । प्रदेशले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा धरानमा खेलग्राम बनाउन ५ करोड बजेट विनियोजन गरेको छ । धरान उपमहानगरले वडा नं १७ स्थित जग्गामा तोकेर नै खेलग्राम बनाउने प्रस्ताव गरेको थियो । सोही अनुसार उपमहानगरले परामर्शदाता लिएर खेलग्रामसहित समग्र खेलकुदको गुरुयोजना तयार गर्न डिपिआर बनाउने काम पनि भइरहेको छ । ‘नीति तथा कार्यक्रममा धरानमा खेलग्राम बनाउन बजेट विनियोजन गरिदा कहाँ बनाउने भनेर तोकेको थिएन, तर कार्यपालिकाले खेलग्रामको प्रस्ताव पारित गर्दा नै धरान १७ मा भनेर प्रष्ट उल्लेख छ । त्यसैअनुसार प्रस्ताव प्रदेश सरकारमा लगिएको हो,’राईले भने ।

sports-village

प्रदेश मन्त्रालयको यो निर्णयले खेलग्रामको योजना तुहिने मात्र होइन, रंगशालामा कभर्डहल निर्माण हुने सम्भावना पनि नरहेको जानकारहरु बताउँछन् । रंगशाला राष्ट्रिय खेलकुद परिषद(राखेप)को स्वामित्वमा छ । त्यहाँ परिषदले छुट्टै आफ्नो गुरुयोजना बनाएर खेल पुर्वाधारहरु बनाइरहेको छ । प्रदेशले कर्भड हल बनाउने भनेको रंगशालाको दक्षिणको खाली जग्गामा परिषद आफैले १७ करोडको हल आफैले निर्माण गर्न लागेको छ । ‘राखेप आफैले त्यहाँ हल बनाउन लागेको छ,’नगर खेलकुद विकास समितिका संयोजक राईले भने ।

खेलग्राम निर्माण गर्ने भनिएको धरान १७ स्थित सप्तरंगी पार्क क्षेत्रमा विभिन्न खेलकुदको एकीकृत संरचनासँगै आवासिय भवन पनि हुनेछ । त्यहाँ भलिवल, कराते, उसु, सुटिंग, सेपाकताक्रो, बास्केटवल, स्वीमिङ, टेबल टेनिस, ब्याडमिन्टन लगायत इन्डोर खेलको आवासिय सुविधा सहित प्रशिक्षण केन्द्र बनाउने योजना हो । यस्तै, एथलेटिक्स ट्रयाक, साइक्लिङ, फुटबल, हकी, आर्चरी, क्रिकेटको वलिङ र ब्याटिङ अभ्यासस्थल लगायतको पनि आवासिय सुविधासहित प्रशिक्षणस्थल हुनेछ । खेलग्राम अवधारणामा नै साहसिक खेलकुदको एक्स्ट्रीम पार्कको अवधारणालाई पनि समेटिने बताइएको छ ।