इटहरी : इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधी जनता माध्यमिक विद्यालय इटहरीले जीतेको छ ।

फाइनल खेलमा राष्ट्रिय माविलाई ४-१ अन्तरले पराजीत गर्दै उपाधी उचालेको हो । जनता स्कुलले नगद ४६ हजार, शिल्ड र प्रमाण पत्र हात पारेको छ । उपविजेता राष्ट्रिय माविले २५ हजार शिल्ड र प्रमाणपत्रमा चित्त बुझाएको छ । माघ ९ गते देखि सुरु प्रतियोगितामा इटहरीका १७ वटा विद्यालयका छात्रा टिम सहभागि थिए ।

पुरस्कार वितरण पछि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरले ६० जना छात्रालाई तालिम दिएर प्रतियोगिता समेत संचालन गरेको बताईन् । उनले नगरस्तरीय मात्र होइन इटहरीवाट राष्ट्र, अन्तराष्ट्रस्तर सम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन हुनुपर्नेमा जोड दिईन् । इटहरी उपमहानगरले गत बर्षदेखि अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु गरेको हो ।