बिराटनगर : मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमबार राती पौने ११ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका ४ गछियामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी ४ का २६ वर्षिय धिरेन्द्र खत्रीको मृत्यु भएको हो ।

दुर्घटनमा परी गम्भीर घाईते भएका खत्रीको बिराटनगरको बिराट नर्सीङहोममा उपचारको क्रममा राती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका ३ गोपेटारमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमबार राती पौने ७ बजेको समयमा कालापानीबाट गोपेटार आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्याक्टरमा सवार रहेका याङवरक गाउँपालिका ५ का ४३ बर्षीय शिवलाल काङवाङ सोही ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि पाथिभरा अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।