धरान: वन कार्यालयले इटहरी उपमहानगरपालिका क्षेत्रको फोहोर जंगलमा फाल्न प्रतिबन्ध लगाएको छ ।
नगरक्षेत्रको फोहोर र सेफ्टीटंकीको फोहोरसमेत जंगलमा जथाभावी फाल्दा वातावरणमा अत्यधिक असर परेको भन्दै वन कार्यालयले इटहरीको फोहोर फाल्न रोक लगाएको हो ।

वन कार्यालयका अधिकृतहरुले इटहरी र धरानले फोहोर फाल्ने गरेको वन क्षेत्रको स्थलगत अवलोकन पछि यो कदम चालेको हो । सब डिभिजन वन कार्यालय तरहराले इटहरीबाट फोहोर बोकेको गाडीलाई जंगलतर्फ आउन नदिई फर्काउन थालेको छ । यस्तै, धरान उपमहानगरलाई पनि नगर क्षेत्रको फोहोर चाडै अन्यत्र व्यवस्थापन गर्न आग्रह गरेको छ । सब डिभिजन वन कार्यालय तरहराका प्रमुख अवधेशकुमार गच्छदारले इटहरी उपमहानगरले एक बर्षको लागि मात्र फोहोर फाल्ने भनेपनि २ बर्ष बितिसकेको र धेरै असर परेकोले रोक लगाएको बताए । ‘अति नै भयो भनेर अब चै रोकेका हौं, फोहोरको गाडीलाई फर्काइदिइरहेका छौं,’उनले भने ।

fohor

इटहरीको फोहोर हाँसपोशा सामुदायिक वन समुहको हाताभित्र फाल्ने गरेको छ भने धरानको फोहोर बाँझगरा सामुदायिक वन समुहको क्षेत्रमा पर्ने सेउती खोला किनारमा फाल्ने गरेको छ । फोहोर वन क्षेत्रमा फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर परिरहेको आवाज उठेपनि सुनुवाई भएको छैन । धरानले भने पानवारीमा फोहोरबाट उर्जा निकाल्ने तयारी गरेको र अब २ साताभित्र नै परीक्षण सञ्चालन हुने भएकोले केही समय पर्खिदिन आग्रह गरेको छ । फोहोर फाल्ने गरेको ठाउँमा पनि व्यवस्थित गरिएको धरान उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेले बताए । ‘२ सातापछि प्लान्ट परीक्षण शुरु हुन्छ, र धरानको समस्या हल हुन्छ,’उनले भने ।