रौतहटः नेकपा विप्लव समुहका रौतहट जिल्ला सेक्रेटरी र सदस्य पक्राउ परेका छन् । ईलाका प्रहरी चन्द्रनिगाहपुरले आज बिहान चन्द्रपुर ३ ईलिपिघारी बस्तीबाट दुवैलाई पक्राउ गरेको हो ।

प्रहरी पक्राउ परेका विप्लवका जिल्ला सेक्रेटरी सिर्जना शाही(सिसम) र जिल्ला सदस्य दुर्गा बललाई सार्वजनिक पनि गरेका छन् । उनीहरुलाई आज बिहान ४ बजे पक्राउ गरेको डिएसपी हेमबहादुर शाहीले जानकारी दिए । कालीकोट घर भएका शाही पछिल्लो समय चितवन बस्दै आएका छन् । उनी करिब २ महिनादेखि रौतहट सेक्रेटरीकोरुपमा खटिएको प्रहरीको भनाई छ ।

केही समयदेखि जिल्लामा धम्की र चन्दा आतंक बढेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा उनीहरुलाई आज बिहान पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुबाट पार्टीको दस्तावेज, मोबाइल, सिमकार्ड, विस्फोटको लागि प्रयोग गर्ने सामानहरु पनि वरामद भएको छ । एनसेलटको टावरमा आगजनीको घटनाको अनुसन्धान गर्दै जादा उनीहरु पक्राउ गरेको डिएसपी शाहीले बताए । दुबैलाई मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २६ अनुसार आपराधिक उपद्रोसम्बन्धी कसुरमा अनुसन्धान सुरु गर्ने प्रहरीको भनाई छ ।