धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इञ्जिनियरीङ विभागका अधिकृतले विजुलीको महशुलमा ठगी गरेको आरोपबारे छानबनि गर्न एक समिति गठन भएको छ ।

इलेक्ट्रिकल इञ्जिनियर तेजनारायण साहले प्रतिष्ठान हाताभित्र भाडामा सञ्चालित व्यवसायीहरुबाट विजुलीको महशुल लिएको छानबिन गर्न चार सदस्यीय समिति गठन भएको हो । समितिको संयोजकमा मानसिक रोग विभागका प्रा.डा.वैकुण्ठ अधिकारी छन् भने सदस्यहरुमा हाडजोर्नी विभागका डा.विष्णु पोखरेल, आर्थिक प्रशासन महाशाखा प्रमुख रमेश पण्डित र प्रतिष्ठानका कानुनी सल्लाहकार अबइन्द्र निरौला छन् । समितिले आरोपित अधिकृत साह र सम्बन्धित व्यवसायीहरुसँग पनि आवश्यक वयान लिने काम गरिरहेको छ ।

समितिले छानबिन शुरु गरेपछि सर्भर लक गरेर महशुल नलिन पनि निर्देशन पनि जनाएको छ । साथै, समितिले विजुलीको महशुल उठ्न बाँकी विवरण पनि लेखा शाखासँग माग गरेको छ । समितिले साहबाट ठगिएको भनिएका व्यवसायीहरुसँग लिखित वयान लिइसकेको छ । त्यसक्रममा उनीहरुले आवश्यक प्रमाण पनि समितिलाई बुझाएको एक व्यवसायीले जानकारी दिए । ‘के भएको हो भनेर हामी १० जना जति व्यवसायीसँग लिखित वयान लियो । प्रमाण के छ, पेश गर्नु भन्यो । हामीले तेजनारायणले दिएको भौचर बुझायौं,’नाम उल्लेख नगर्न आग्रह गर्दै ती व्यवसायीले भने ।

bpkihs payment recev

अधिकृत साहले प्रतिष्ठान हाताभित्र भाडामा सञ्चालनमा रहेको व्यवसायीहरुसँग विगत ७ महिनादेखि विजुलीको महशुल संकलन गरेर अनियमितता गरेको आरोप छ । अधिकृत साहले अधिकार क्षेत्रबाहिर गएर भाडामा रहेका व्यवसायीहरुसँग महशुल लिइरहेको लिखित निवेदन परेपछि छानबिन समिति गठन भएको हो । अधिकृत साहले प्रतिष्ठानमा भाडामा रहेका व्यवसायीहरुसँग विजुलीको विलवापत लाखौं रुपैया संकलन गरेर अपचलन गरेको आशंका गरिएको छ । आर्थिक कारोबारको अधिकृत प्रतिष्ठानको लेखा शाखालाई मात्र छ । तर, साहले सर्भर बिग्रिएको मौका पारेर आफैले नै व्यवसायीहरुबाट महसुल लिइरहेको खुलेको थियो ।

व्यवसायीहरुबाट पैसा बुझेपछि अधिकृत साहले इलेक्ट्रिकल इञ्जिनियरीङ विभागको रिसिभ भौचर दिएका छन् । त्यसमा प्रतिष्ठानको छाप पनि छ । भौचरमा पैसा बुझ्ने व्यक्तिको नाम एम.के.राई उल्लेख छ भने उनैको हस्ताक्षर पनि छ । तर, यो नाम गरेको व्यक्ति इलेक्ट्रिकल विभागमा छैनन् । प्रतिष्ठानको लेखा शाखामा इलेक्ट्रिक सफ्टवेयरको आर्थिक कारोबार गर्ने अधिकार इन्दिरा कार्कीलाई मात्र छ । सफ्टवेयरमा लगइन उनको मात्र छ । अधिकृत साहले भने आफुलाई फसाउने खेल भएको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् ।