धरान : धरान उपमहानगरपालिका दलित विकास समितिले सञ्चालन गरेको छूवाछूत विरुद्ध स्कूल–स्कूल अभियान माघ १४ गते धरान १७ स्थित दिपेन्द्र स्मृति आधारभूत विद्यालयमा सम्पन्न भएको छ ।

अभियानमा प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेलले २१ औं शताब्दीमा पनि समाजमा जातका आधारमा भेदभाव हुनु लाजमर्दो र घृणित कार्य भएको बताए । हरेक दिन कक्षामा शिक्षकहरुले कुप्रथाका विषयमा कम्तिमा १० मिनेट विद्यार्थीलाई शिक्षा दिन शिक्षकहरुलाई निर्देशन दिएका छन् । उनले भने-‘विभेद गर्नेहरु मुर्ख हुन् मानिसले मानिसको व्यवहार गर्नुपर्छ । पुरेत–पण्डितहरुले धर्मको बद्नाम गरेर छूवाछूत प्रथा कायम गरेकोले अब त्यस्ता कुरितीको पछाडी लाग्नु हुँदैन ।’

 कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा धरान १७ नम्बर वडा सदस्य मिना लावतीले अहिलेको पुस्तामा पनि विभेदको मानसिकता कायम रहेकोले दलित विकास समितिले यस्तो अभियान सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको प्रतिक्रिया दिएकी छन् । त्यसैगरी विद्यालयकी सहायक प्रधानाध्यापक विष्णुमाया आचार्यले आफुहरुलाई समेत छूवाछूत विरुद्धका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा जानकारी पाउँदा ज्यादै आभारी भएको बताइन् । कानूनी सचेतना फैलाएर व्यवहारिक शिक्षा दिएपछि जातीय विभेद हट्न सक्ने बताइन् ।

दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक सचेत भएपछि सबैखाले विभेदको अन्त्य गर्न सजिलो हुने बताए । समाजका सबै क्षेत्रमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले सचेत भएर जातपात तथा छूवाछूत प्रथाको अन्त्य गर्नुपर्नेमा सजग गराएका छन् । कार्यक्रममा दलित विकास समितिका सदस्य रामधारी बासफोरले स्वागत गरेका थिए । हाँस्य कलाकार बिनोद रसाइली जुरेलीले हाँस्य ब्यङ्ग्यमार्फत् विभेदको अन्त्य गर्न र सबै मानिस समान हौं भन्ने सन्देश प्रवाह गरेका थिए । समितिका सदस्य धनबहादुर हमालले सञ्चालन गरेको उक्त अभियानको अध्यक्षता समितिका संयोजक किशोर परियारले गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी एवम् अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।