धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

इलाका प्रहरी कार्यालय धरानले प्रतिष्ठानबाट मोटरसाइकल चोरी गर्ने धरान १५ खोरिया बस्तीका २१ बर्षीय रितेश सुब्बा र धरान ८ का १९ बर्षीय पवन बिकलाई पक्राउ गरेको हो । दुवैले माघ ८ गते राती प्रतिष्ठानबाट लु १७ प २८६१ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका थिए । उक्त मोटरसाइकल प्रतिष्ठानका प्रशिक्षार्थी डाक्टर जितेश ठाकुरको हो । उनले मोटरसाइकल चोरी भएको निवेदन दिएपछि प्रहरीले खोजतलाश गरिरहेको थियो ।

प्रहरीले शुरुमा रितेश सुब्बालाई मोटरसाइकलसहित पक्राउ फेला पारेको थियो । उनलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकल चोरी गरेको पक्का भएपछि घटनामा संलग्न पवन बिकलाई पनि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दुवैलाई पक्राउ गरी अदालतबाट म्याद थप भई चोरी मुद्दामा अनुसन्धान भई रहेको प्रहरी कार्यालय धरानले जनाएको छ ।