धरान: धरान जेसि बर्ष २०२० को अध्यक्ष पदको लागि भएको चुनावमा दिपेन्द्र निरौला विजयी भएका छन् ।

अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि आज भएको निर्वाचनमा निरौलाले ५६ मत पाउदै विजयी भएका हुन् । उनले प्रतिद्धन्दी मणिराज अधिकारीलाई मात्र ३ मतले हराए । पराजित भएका अधिकारीले ५३ मत पाएका थिए । कुल १३१ मत भएको जेसिजमा ११० मत खसेको थियो । खसेको मध्ये एक मत वदर भएको निर्वाचन समितिका सदस्य विदुर थापाले जानकारी दिए ।

धरान जेसिजमा ३१ बर्षपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो । जेसिजमा ३१ बर्ष यता अहिलेसम्म सर्वसम्मतरुपमा नेतृत्व चयन हुदै आएको थियो । धरान जेसिज स्थापना भएदेखि ४५ बर्षको इतिहासमा यो तेस्रो पटक मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।

अध्यक्षबाहेक ४ जना उपाध्यक्ष पदमा राजु साह, सागर प्रसाई, आयुष्मा लिम्बु र सलुजा श्रेष्ठ निर्विरोध चयन भएका छन् भने कार्यकारिणी उपाध्यक्ष रिया श्रेष्ठ र दिनेश तामांग पनि निर्विरोध नै चयन भएका छन् । कुल २५ जनाको कार्यसमितिमा बाँकी पदहरु महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकारलगायत सबै मनोनित हुनेछन् ।