धरान : धरान उपमहानगरपालिका वार्ड नं. १३ मा रहेको खानेपानी उपभोक्ता समितिलाई संस्थागत गर्न विधान तयार गरी दर्ता गर्ने भएको छ ।

कोलोनी, देबीमार्ग, शिबधारा, भालु खोला, राईटोल र अमरटोल लगायतका ८ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष तथा प्रतिनिधिहरुको संयूक्त बैठकले उपभोक्ता समितिलाई संस्थागत गर्ने समेत निर्णय गरेको छ । भेलामा निति नियम तथा विद्यान तयारी, वेन्चमारकिङ्ग, व्याकस्टोपिङ्ग र नेटवर्किङ्गको विषयमा समेत छलफल भएको थियो ।

बुधवार १३ नंं वडा कार्यालयमा वडाध्यक्ष नेत्र काफ्लेको अध्यक्षतामा बसेको बैठकले खानेपानीको मुहान तथा स्रोतको संरक्षण समेत गर्ने योजना बनाएको छ । आफ्नो वडाका उपभोक्ताले उपभोग गर्दै आएको खानेपानीको स्रोतको संरक्षण गर्न र पानीको सदुपयोग गर्न आफुहरु प्राथमिकताका साथ लाग्ने वडाध्यक्ष काफ्लेले बताए ।
खानेपानी तथा सरसफाई समितिको विधान बनाएर दर्ता गरी योजनाबद्ध ढंगले काम गरेमा समितिको आम्दानी पनि बढ्ने र अन्य विकास निर्माणका काममा समेत सहयोग पुग्ने आयोजनाका समाजशास्त्री मोहन श्रेष्ठले बताए ।

आफुहरुले भोग्दै आएको खानेपानीको समस्यालाई समाधान गर्न धरान आपसपासको खानेपानीको स्रोत तथा जरुवाहरुबाट रिजर्भ टंकी बनाई उनिहरुले समिति बनाएर उपभोग गर्दै आएका थिए । खानेपानी उपभोक्ता समितिको तर्फबाट आफ्नो विचार राख्दै राई टोलका कुल बहादुर तमाङ्गले बितेको १२ वर्ष देखि उपभोक्ता समतिले भोग्दै आएको आर्थिक समस्यालाई समाधान गर्ने कुरामा ठूलो राहत मिलेको बताए ।

धरान भित्र स्थानीय स्रोतबाट पानी उपभोग गरिरहेका ८० वटा उपभोक्ता समितिहरु रहेका छन् । खानेपानी मन्त्रालय र धरान उपमहानगरपालिकाको सहकार्यमा डी.एस.ओ.एस.ले उपभोक्ताहरुको क्षमता अभिवृद्धि साथै विभिन्न कुरामा सहयोग गर्दै आएको छ । आयोजक डी.एस.ओ.एस.का एम ई देबीलाल पाण्डेले आयोजना सफल पार्नका लागी सबै उपभोक्ता ईमान्दारी र लगनशिलताका साथ लाग्नु पर्ने कुरामा जोड दिदै खाने पानी सँगै सररफाई, स्वास्थ्य, आयआर्जन जस्ता कुराहरुलाई पनि सँगसँगै लिएर जानुपर्ने बताए ।

कार्यक्रममा परियोजनाका ईजिनियर रोहित यादव, १३ नं. वडाका महिला सदस्य कमला श्रेष्ठ र उपभोक्ता समितिको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।