धरान: धरान ६ पानवारीकी रिना राई हिजो बुधबार किनमेल गर्न धरान बजार आएकी थिइन् । किनमेल पछि घर फर्कने क्रममा उनले पर्स कतै खसाइन् ।

घर पुगेपछि उनले आफ्नो पर्स हराएको थाह पाइन् । तर, कहाँ खस्यो ? अनुमान लगाउन सम्भव थिएन । पर्समा केही पैसा, बैंकको एटिएम कार्ड, नागरिकता, सुनको बिल र अन्य कागजपत्रहरु पनि थियो । त्यसैले उनलाई त्यो पर्स भेटिए हुने भन्ने मनमा थियो । तर, भेटिएला भन्ने आश थिएन ।

तर, साँझ उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा सुचना देखिन् । जय किशोर नामको आइडीबाट उनको नामको पर्स भेटिएको र पर्सभित्रको सामानहरुसहितको फोटो राखेर पर्सधनीले सम्पर्क गर्न भन्ने सुचना थियो । त्यही सुचनाबाट उनले सम्पर्क गरिन्, र आज उनले वडा प्रहरी कार्यालय धरानमा डिएसपी ढुण्डीराज न्यौपाने, समाजसेवी रमेश राईको रोहबरमा पर्स फिर्ता पनि पाइन् । पर्समा भएको ११ हजार १ सय ६० रुपैया पनि सकुशल पाइन् ।

purse2

रिनाको पर्स बुधबार निकेतन गल्लीमा खसेको रहेछ । त्यो पर्स त्यही फ्रेमिङको पसल सञ्चालन गर्ने दम्पत्ति जयकिशोर र गीता जयसवालले भेटेका रहेछन् । आफन्तलाई विराटनगर एयरपोर्टमा पुर्याएर आएपछि पसल बन्द गर्ने क्रममा दिउँसो करिब ४ बजेतिर गीताले उक्त पर्स भेटेकी थिइन् । ‘पसलको सामान थन्काउन थाल्दा भुँइमा पर्स थियो, यसो हेरेको पैसा, एटिएम, नागरिकता थियो । त्यसलाई फेसबुकमा हाल्यौं, र सम्पर्क गर्न भनेर मोवाइल नम्बर पनि राख्यौं,’गीताले भनिन्,‘कसै न कसैले त भेट्ला र थाह पाउला भन्ने थियो ।’

पर्स भेटिएको बारे उनीहरुले समाजसेवी रमेश राईलाई पनि भनेका थिए । उनले नै डिएसपी न्यौपानेलाई पनि खबर गरे । आज पर्स धनी रिना सम्पर्कमा आएपछि पत्रकारहरुलाई उपस्थित गराएर नै हस्तान्तरण गर्ने योजना बन्यो । ‘अहिलेको समयमा उहाँहरु जस्तो मानिस पाउन मुश्किल छ । पैसासहितको भेटिएको पर्स फिर्ता गर्नु भयो,’डिएसपी न्यौपानेले भने,‘रकम धेरै थोरै जति भएपनि इमान्दारितापुर्वक भेटिएको सामान फर्काउनु ठुलो कुरा हो । अरुलाई पनि प्रेरणा मिलोस् भनेर यसरी सार्वजनिक गरिएको हो ।’

purse purse3