सुनसरी: चराको राजधानीकोरुपमा चिनिने कोशीटप्पुमा पर्यटन महोत्सब हुने भएको छ । संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिने भएको हो ।

सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय आसपास भ्रमण बर्षको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । कोशी गाउँपालिकाले माघ १९ गतेदेखि २९ गतेसम्म महोत्सव आयोजना गर्ने जनाएको छ । कोशी पर्यटन महोत्सव २०७६ नाम दिइएको महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर कोशी गाउँपालिकाले महोत्सब गराउने छ । महोत्सबमा आउने पर्यटकले हात्ती देखि जंगल सफारी सम्मको यात्रा गर्न पाउने गाउपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । आन्तरिक, ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरि एक लाख पर्यटकहरु भित्र्याउने उदेश्य छ । विभिन्न चरणमा पत्रकार सम्मेलन गरेका अध्यक्ष अन्सारीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मुलधारका संचार माध्यममा समेत प्रचार गर्ने आग्रह समेत गरेका छन् ।

koshi 1

अन्सारीका अनुसार गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव गरिने छ । महोत्सवमा कोशीटप्पु वन्यजन्तु आरक्षको गतिविधि तथा परिचय र चरा महोत्सव २०२० सम्बन्धी कार्यक्रम हुने छन् । स्रोत साधन सङ्कलन, विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कोशीटप्पुको विषयमा जानकारीमूलक ब्रोसर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरूको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर गरिने छ ।

स्थानीय हस्तकला र कृषि उत्पादनहरूको स्टल प्रदर्शन, राष्ट्रिय व्यापी बीपी स्मृति कुस्ती प्रतियोगिता, पालिकास्तरीय खेलकुद प्रतियोगिता, स्वास्थ शिविर, चरा तथा कोशीटप्पुमा पाइने वन्यजन्तुको तस्बिर प्रदर्शन र नागरिक सहयोग तथा सूचना कक्ष माघ १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने कोशी गाउँपालिकाको कार्यालयले जनाएको छ ।