धरान: एक महिलालाई यौन हिंसा गरेको आरोप लागेपछि संघीय प्रहरी कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणालाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।

धरानकी एक महिलाले राणाविरुद्ध मन्त्रालयमा उजुरी गरेको बताइएको छ । उनको उजुरीबारे प्रारम्भिक छानबिन भएपछि राणालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । उनी पदमा वहाल हुँदा अनुसन्धानको लागि आवश्यक प्रमाणहरु नष्ट हुनसक्ने भएकोले निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले राणाबारे आवश्यक अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचारसमेत गरेको छ ।

एसएसपी राणा एसपी हुँदा जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रमुख भएर पनि यसअघि बसेका थिए । त्यसक्रममा नै उनको ती महिलासँग चिनजान भएको र निकट सम्बन्ध भएको बताइएको छ । त्यसपछि उनी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा पनि प्रमुख भएर बसेका थिए । एसएसपीमा बढुवा भएपनि पछिल्लो समय प्रहरी प्रधान कार्यालय मातहतको संघीय प्रहरी इकाई कार्यालय धरानको प्रमुखकारुपमा कार्यरत थिए ।