धरान: प्रहरीले धरान उपमहानगरपालिका ६ बाट २ नाल भरुबा बन्दुक र मृत बदेलसहित ४ जनालाई पक्राउ गरेको छ ।

आज राती १ बजेको समयमा प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान ६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धरान ६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाल रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्दा २ नाल भरुवा बन्दुक र मृत अवस्थाको करिव ६ किलोको बदेल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ भने पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।