धरान:संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी दर्ता भएको छ ।

पीडित महिलाले हिजो बिहिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनको उजुरी दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए । ‘हिजो बेलुका उजुरी आएको हो, दर्ता भइसकेको छ,’उनले भने । उजुरी दर्ता पछि प्रहरीले निवेदक महिलाको मेडिकल जाँच गराएको छ भने घटनास्थल मुचुल्का पनि गरेको डिएसपी शर्माले जानकारी दिए ।

महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज शुक्रबार स्वास्थ्य परीक्षण गरिएको थियो भने उजुरीमा उल्लेख भएअनुसार घटनास्थल इटहरीमा मुचुल्का गरिएको डिएसपी शर्माले बताए । ‘मेडिकल जाँच भयो, र घटनास्थल मुचुल्का पनि भइसकेको छ,’उनले भने । घटनाबारे उनले थप बताउन चाहेनन् । बलात्कारको आरोप लागेपछि गृहमन्त्रालयले एसएसपी राणालाई आजै निलम्बन गरिसकेको छ । उजुरी दर्ता पछि अदालतबाट अनुमति लिएर राणालाई पक्राउ गर्ने तयारी भइरहेको पनि बताइएको छ ।

स्रोतका अनुसार एसएसपी राणा र पीडित भनिएकी महिलाबीच पुरानो सम्बन्ध हो । ती महिला हाल झापाको विर्तामोड बस्दै आएकी छिन् । झापामा डिएसपी हुँदादेखि नै राणा र ती महिलाबीच चिनजान भएको बताइएको छ । उनले विगत १५ बर्षदेखि आफुलाई राणाले शोषण गरेको आरोप लगाएका छन् । राणा एसपी हुँदा जिल्ला प्रहरी कार्यालय प्रमुख भएर सुनसरी आएका थिए । पछि राणा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख भएर पनि सुनसरी आएका थिए भने पछिल्लो समय एसएसपीमा बढुवा भएपछि धरानस्थित संघीय प्रहरी इकाई प्रमुख भएर आएका थिए ।