धरान: धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा आउदो आइतबारदेखी ‘हात्तिसार एक्पो–२०२०’ सुरु हुने भएको छ ।

क्याम्पसको आयोजना तथा स्वतन्त्र विद्यार्थी यूनियनको सह–आयोजनामा क्याम्पसको खेल मैदानमा माघ १९ गतेदेखि हुने एक्स्पोको तयारी भएको हो । क्याम्पसले पहिलो पटक आयोजना गरेको एक्स्पो मंगलबार (तीन दिन)सम्म सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । एक्स्पोमा खाद्य, विज्ञान तथा पोषण प्रदर्शनीका ५० वटा स्टलहरु रहने क्याम्पसका माइक्रोबाइलोजी विभागीय प्रमुख एबंम एक्स्पोका प्रचार प्रचार संयोजक धिरेन लिम्बुले बताए । उनका अनुसार एक्स्पोमा प्रत्येक संकायको तीन वटा स्टल रहने छ ।

एक्स्पोको मुख्य आकर्षणमा परम्परागत तथा आधुनिक खानाका परिकार, जलबायु परिवर्तन सम्बन्धी प्रदर्शनी, बैज्ञानिक आबिष्कारहरुको प्रदर्शनी, धरान क्षेत्रको भौगर्भिक नमुना प्रस्तुत गर्ने, औषधिजन्य विरुवाहरुको बारेमा जानकारी दिने आयोजकले जनाएको छ । यस्तै, जिवजन्तु सम्बन्धी खोजमुलक जानकारी दिने, पोषण जाँच तथा परामर्श सेवा, कोरोना भाइरस र डेङ्गो रोगको बारेमा समेत सचेत गराइने भएको हो ।

क्याम्पसले उत्पादन गर्ने जनशक्ति तथा विभिन्न विषयमा केन्द्रीत रहेर गदै आएको खोजअनुसन्धानको बारेमा सबैमाझ पु¥याउने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको सह–प्राध्यापक एवं क्याम्पसका निमित्त प्रमुख डा.दिलकुमार लिम्बुले बताए । ‘केन्द्रीय प्रविधि क्याम्पसमा के–के विषयमा पढाइ हुन्छ ? कुन–कुन विषयमा खोजअनुसन्धान गरिन्छ ? त्यहाँबाट उत्पादन भएको जनशक्तिहरुले कस्तो क्षेत्रमा काम पाउछन् ? त्यो जानकारी गराउनको लागि एक्स्पोको आयोजना गर्न लागिएको हो,’क्याम्पसका निमित्त प्रमुख डा. लिम्बुले भने,‘क्याम्पसमा विभिन्न विभाग छन्, उनीहरुको विषय अनुसारको प्रोडटक्लाई एक्स्पोमा राख्छौं ।’

उनले एक्स्पोमा महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरसको बारेमा समेत सचेतना गराउने बताए । ‘हामीले डेङ्गोको बारेमा पनि रिसर्च गरेका थियौं, अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइसको बारेमा पनि सचेतना गराउछौं,’निमित्त प्रमुख लिम्बुले भने । यस क्षेत्रका सबै क्षेत्रका मानिसहरुसंग सम्बन्ध विस्तार गर्नको लागि एक्स्पोले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । ‘यस क्षेत्रका राजनीतिज्ञ, व्यापारी, बुद्धिजीवीहरुसंग क्याम्पसको सम्बन्ध विस्तार गर्नको लागि पनि एक्स्पोको आयोजना गर्न लागिएको हो,’उनले भने । एक्स्पोमा प्रत्येक संकायको सुचना मुलक स्टल समेत रहने जनाइएको छ । एक्स्पोमा प्रत्येक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।