धरान: धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ ।
धरान–१ स्थित कलेजको प्राङ्गणमा एक कार्यक्रमको बीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आज खेलकुद सप्ताहको उद्घाटन गरेका थिए । उनले धरान उपमहानगरपालिकालाई शैक्षिक गन्तव्यका रूपमा विकसित गर्न कलेजको समेत उल्लेख्य भूमिका रहने बताए । एकेडेमी अध्यक्ष डा.पालुङ्वाले धरान मोडल कलेजले पढाइका साथै विविध अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको कुरा बताए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दैै क्याम्पस प्रमुख राईले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

उद्घाटन कार्यक्रमपछि प्रमुख अतिथि मेयर राईले रिबन काटेर मिनी म्याराथुन दौडको सुरुवात पनि गरेका थिए । छात्रतर्फको पाँच किलोमिटरको दौडमा बी.बी.एस.प्रथम वर्षका साङगे शेर्पा प्रथम, बी.एड.दोस्रो वर्षका पूजन लिम्बू द्वितीय र बी.बी.एस.प्रथम वर्षका सुरज राई तृतीय भएका थिए । त्यस्तै छात्रातर्फको तीन किलोमिटर दौडमा बी.बी.एस.दोस्रो वर्षकी सृजना राई प्रथम, बी.एड.दोेस्रोकी अनिता लिम्बूू द्वितीय र बी.बी.एस.प्रथमकी सुशीला धमला तृतीय भएका थिए ।
कलेजका प्रमुख प्रविन राईको सभापतित्वमा आयोजित कार्यक्रममा एकेडेमीका अध्यक्ष डा.योगेन्द्र पालुङ्वा, कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठ, एकेडेमीका उपाध्यक्ष जीवनकुमार राई, बद्री तामाङ, खेलकुल सप्ताहका संयोजक डा.भवानीशङ्कर भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन डा.महानन्द तिमिल्सिनाले गरेका थिए ।
कलेजले एक हप्तासम्म चल्ने उक्त कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ । समितिका संयोजकहरूमा सूर्यबहादुर राई (मिनी म्याराथुन), चन्द्रकुमार राई (फुटबल), गौरव सञ्जेल (हाजिरी जवाफ), विष्णुप्रसाद गुरागाईँ (भलिबल), प्रकाश कार्की (क्यारमबोर्ड), खेमचन्द्र सुवेदी (नेपाली वक्तृत्वकला), तुलसी गड्तौला (अङ्ग्रेजी वक्तृत्वकला), डा.महानन्द तिमिल्सिना (नेपाली कविता), बमप्रकाश राई (अङ्ग्रेजी कविता), जीना तामाङ (चाइनिज चेकर), नरबहादुर राई (चेस), अर्चना ढकाल (एकल नृत्य), विष्णु खनाल (रक्तदान), कृष्णगोपाल अधिकारी (टेबल टेनिस) र सजनकुमार राई (सरसफाई) रहेका छन् । कार्यक्रमको समापन समारोह यही माघ २४ गते आयोजना गरिनेछ ।