धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तीको प्रक्रिया शुरुपछि विभिन्न व्यक्तिहरुको दौडधुप पनि शुरु भएको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले सहकुलपति तथा स्वास्थयमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा छनौट तथा सिफारिश समिति गठन भएपछि उपकुलपति बन्न विभिन्न व्यक्तिहरु लविङ गरिरहेका छन् । उपकुलपतिको दौडधुप शुरु भएपछि यता प्रतिष्ठानमा भने भित्रकै प्राध्यापक चिकित्सकलाई उपकुलपति बनाउने कि बाहिरबाट ल्याएको उपकुलपतिलाई स्वीकार गर्ने भन्ने बहस छेडिएको छ । यसैबीच, प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले आर्थिक लेनदेन नगरी उपकुलपति नियुक्ती गर्न माग गरेको छ । साथै, प्रतिष्ठानमा नै योग्य र सक्षम प्राध्यापकहरु भएकोले भित्रैबाट उपकुलपति बनाउन पनि समाजले माग गरेको छ ।

समाजका अध्यक्ष डा.विष्णु पोख्रेल र महसचिव डा.एस.पी.रिमालले उपकुलपति छनौट समितिका संयोजक तथा स्वास्थ्यमन्त्री ढकाललाई ७ बँुदे माग पठाउदै यो माग अघि सारेका हुन् । समाजले प्रतिष्ठानलाई नेतृत्व गर्न सक्ने सक्षम प्राध्यापकहरु प्रतिष्ठानभित्र नै भएकोले उनीहरुमध्ये एक जनालाई उपकुलपति बनाउन पनि माग गरेको छ । प्रतिष्ठानले गर्न लागेको हरेक राम्रा कामहरुलाई सरकारको पुर्ण समर्थन हुनुपर्ने पनि समाजले माग गरेको छ ।

यसैगरि, प्रतिष्ठानप्रति इमान्दार र प्रशासनिक क्षमता एवं अनुभव भएको व्यक्ति उपकुलपति हुनुपर्ने पनि समाजको माग छ । प्रतिष्ठानको समस्याबारे जानकार हुनुको साथै समाधान तयार गरेको हुनुपर्ने र उपकुलपतिको कार्यकालको प्रत्येक ३ महिनादेखि ६ महिनामा नियमन र मुल्यांकन हुनुपर्ने पनि माग गरेको छ । सञ्चालक परिषद(सिनेट) सदैव प्रो एक्टिभ हुनुपर्ने र कुनै पनि शैक्षिक संस्थानमा अध्यापन गरेको प्राध्यापक हुनुपर्ने समाजको माग छ ।

bp1