धरान: एक महिलालाई जर्बजस्ती करणी गरेको आरोप लागेका एसएसपी सौरभ राणालाई अदालतले अनुसन्धानको लागि ५ दिनको म्याद थप गरेको छ ।

आज जिल्ला अदालत सुनसरीले उनलाई जर्बजस्ती करणी अभियोगको अनुसन्धानको लागि ५ दिनको म्याद थप गरेको हो । 'अदालतबाट ५ दिनको म्याद थप भएको छ,'जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद शर्माले भने । उनलाई आज सरकारी वकिलको कार्यालय इनरुवामार्फत अदालतमा लगिएको थियो । बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी परेपछि राणालाई गृहमन्त्रालयले बिहिबार निलम्बन गरेको थियो । उनीविरुद्ध जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको थियो भने राणा आफै प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसर्मपण गरेका थिए ।

अदालतले म्याद थप गरेपछि अदालत परिसरमा राणाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिएका थिए । उनले आरोप झुटो रहेको र सत्यतथ्य चाडै बाहिर ल्याउने बताएका थिए । संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख राणालाई झापाको एक महिलाले गएको साउनमा इटहरीमा जर्बजस्ती करणी गरेको आरोप लगाउदै उजुरी दिएकी थिइन् । राणा र ती महिलाबीच लामो समयदेखि सम्बन्ध भएको बताइएको छ ।