काठमाडौं : नेपालको छ वटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ ।

वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छवटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए ।

यसअघि नेपालका हिमालमा फोहोर र प्रदूषण बढेको टिप्पणी विदेशमा भइरहेको थियो । बढी पर्यटक चढ्ने हिमालमा फोहोर व्यवस्थापनको अभाव रहँदा हिमालले फोहोरको भार खेप्दै आउनु परेको छ, जसका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विज्ञहरू बताउँछन् । हिमाल र हिउँको संरक्षणसँगै वातावरण संरक्षण गर्न हिमाल सरसफाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ ।

पहिले सरसफाइको जिम्मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागलाई दिइएको थियो तर हालै मात्र परिवर्तन गरी हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको छ । -गोरखापत्र दैनिकबाट