झापा : अर्जुनधारा नगरपालिकामा रहेको जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कपडाका झोला निर्माण तथा प्लाष्टिक व्यवस्थापन सम्बन्धी १० दिने तालिम सुरु भएको छ ।

अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित तालिममा नगरक्षेत्रका २२ जना महिलाको सहभागिता रहेको छ । तालिममा लीला मिश्रले सहजीकरण गरिरहेकी छन् । महिलाद्वारा निर्मित झोला अर्जुनधारा र बिर्तामोडका बजारमा बिक्री हुँदै आएको केन्द्रका सदस्य सचिव निशा गौतमले बताइन् । झोला निर्माणका लागि केन्द्रले आयोजना गरेको यो तालिम दोस्रो पटक हो ।
गत वर्षको माघमा आयोजना गरिएको तालिमपछि सहभागी महिलाले झोला उत्पादन गरेर आत्मनिर्भर भइरहेको जानकारी गौतमले दिइन् । उनीहरुले उत्पादन गरेका कपडाका झोला केन्द्रले आफैँ खरिद गर्दै आएको छ । केन्द्रले बिर्तामोड र अर्जुनधाराका डिपार्टमेन्टल स्टोर्सलाई उत्पादन बिक्री गर्दै आएको बताइएको छ ।

प्लाष्टिकको प्रयोगले पर्यावरण सन्तुलनमा असर पु¥याउने भएकाले वातावरणमैत्री पुनः प्रयोग हुने कपडाको झोला उत्पादनमा लागेको केन्द्रकी अध्यक्ष पुनम सुवेदीले बताइन् । उनले हरेक दिन प्लास्टिकको प्रयोग गरिँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा कपडाको झोला उत्पादन गर्नका लागि तालिम प्रदान गरिएको बताइन् । अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा झोला, एप्रोन र थैली उत्पादन भइरहेको छ ।