मोरङ : बुद्ध एअरले विराटनगरबाट पोखरा उडान सुरु गरेको छ । पोखराबाट विराटनगरको लागि पहिलो उडान सोमबार बिहान ११ बजेर ४५ मिनेटमा भएको थियो ।

झण्डै १ घण्टा ५ मिनेटको उडानपछि विराटनगर विमानस्थलमा अवतरण गरेको बिच एयरक्राफ्ट १९०० डी को १८ सिटे जहाजले १७ जना यात्रु ल्याएको थियो । त्यही जहाज विराटनगरबाट १ बजेर १० मिनेटमा १७ जना यात्रु बोकेर पोखराको लागि उडान गरेको बुद्ध एअर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिए ।

हप्तामा नियमित तीन वटा उडान गर्ने तयारीका साथ विराटनगर-पोखरा उडान सुरु भएको हो । सोमबार, बुधबार र शुक्रबार नियमित तालिकामा उडान हुने बुद्ध एअरले जनाएको छ । विराटनगरबाट पोखराको उडानको लागि न्यूनतम भाडादरमा उडान सुरु भएको भण्डारीको भनाइ छ । उनका अनुसार विराटनगर-पोखराको लागि ६ हजार दुई सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।