झापा : गौरादह उद्योग बाणिज्य संघको अध्यक्षमा जितबहादुर कार्की (जेबी) निर्वाचित भएका छन् । कन्काइ ग्यास उद्योगका प्रबन्ध निर्देशक कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन कार्यक्रम अनुसार सोमबार भएको उम्मेद्वारी मनोनयनमा सबै पदमा आवस्यक संख्यामा मात्र उम्मेद्वारी परेपछि २५ गते मतदान हुने कार्यतालिका भएता पनि १५ सदस्यीय कार्यसमिति तथा ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचत हुने भएको हो । यद्यपि निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी रहेको निर्वाचन समिती संयोजक बाबुराम भण्डारीले बताए । सहमतिका लागि उद्योगी व्यवसायीहरु बीच राजनीतिकदलहरूले गरेको सहजीकरण व्यवसायीहरुले सहर्ष अनुमोदन गरेका छन् ।

कार्यसमिति तथा लेखा समिति निर्विरोध निर्वाचित हुनुले सम्पूर्ण गौरादहवासीमा नयाँ उर्जा र सहिष्णुता विकास भएको बताउँछन् निवर्तमान अध्यक्ष जीवन राई । नवनिर्वाचित कार्यसमितिको पदाधिकारी प्रथम उपाध्यक्षमा व्यवसायी भुपालराज कट्वाल, द्वितीय उपाध्यक्षमा निर्मल बास्तोला, तृतीय उपाध्यक्षमा बिरेन्द्र बस्नेत, महासचिवमा अशोक चुडाल र कोषाध्यक्षमा प्रकाश बास्कोटा निर्वाचित हुने निश्चित भएको छ ।

त्यसैगरी सदस्यहरूमा इन्दिरा बिष्ट, रुकमणी लुइँटेल कोइराला, चन्द्रमणी गौतम, हरि कार्की, कृष्ण बराल, इश्वर कुमार खत्री, टंक बहादुर कार्की, सोमराज सिलवाल, समीर बस्नेत निर्विरोध निर्वाचित हुने निश्चित भएको निर्वाचन समितिले बताएको छ ।
यस पटकदेखि बिधान संसोधन गरेर निर्वाचन गरिएको लेखा समितिको संयोजकमा भुपालमान कार्की सदस्यहरुमा योगमाया दङ्गाल र ज्ञानेन्द्र बहादुर कट्वाल पनि निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । निर्वाचित कार्यसमिति र लेखा समितिको कार्यकाल बिधान अनुसार ३ बर्षको हुनेछ ।