धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा तीन जनाको नाम सिफारिश भएको छ ।

सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिले तीन जना चिकित्सकको नाम सिफारिश गरेको हो । समितिले आइतबार साँझ नै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नाम सिफारिश गरेपनि नाम भने सार्वजनिक गरेको छैन । उपकुलपति बन्न आवेदन दिएकाहरुले नियुक्तीको लागि चलखेल बढाएपछि स्वास्थ्यमन्त्रीले नाम सार्वजनिक नगर्न कडा निर्देशन दिएको स्रोतका भनाई छ । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा उपकुलपतिमा सम्भावना भएका प्राध्यापक डाक्टरहरुको बारेमा समाचारहरु आइरहेका छन् ।

उच्च स्रोतका अनुसार मिडियाले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीले उपकुलपति बनाउन चाहेको व्यक्ति भन्दै समाचार लेख्न थालेपछि सिफारिश समितिका संयोजक एवं स्वास्थ्यमन्त्री ढकाल सन्तुष्ट छैनन् । ‘मिडियाबाट चलखेल शुरु भएपछि मन्त्री ज्युले सिफारिश भएको नाम गोप्य नै राख्न भन्नुभएको छ, हामीलाई पनि को को परे भनेर थाह छैन,’स्रोतले भन्यो ।

सिफारिशमा को को परे ?

सिफारिश समितिले नाम गोप्य राखेपनि हाल प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाल र डा.ज्ञानेन्द्र गिरी सिफारिशमा परेका छन् । तर, अर्का को सिफारिशमा परे भन्नेमा अन्योल देखिएको छ । यसअघि डा.गेहनाथ वराल सिफारिशमा पर्ने चर्चा थियो । तर, अहिले वीपी प्रतिष्ठानकै मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मा सिफारिशमा परेको चर्चा छ ।

डा.खनाललाई पुर्वमाओवादी खेमाको साथ छ भने डा.गिरीलाई प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीले उपकुलपति बनाउन चाहेका छन् । उपकुलपतिमा डा.गिरी नै नियुक्ती हुने स्रोतको दाबी छ । डा.वराललाई पनि प्रधानमन्त्रीले उपकुलपति बनाउन चाहेको चर्चा थियो । तर, डा.शर्माको नाम अहिले सिफारिशमा परेपछि उनको बारेमा चर्चा चुलिएको छ । डा.शर्मा इमान्दार, अनुसन्धानमा अब्बल चिकित्सकको रुपमा अन्र्तराष्ट्रियस्तरमा नै ख्याती कमाएका चिकित्सक हुन् । उनी धरानबासीहरुमाझ पनि रुचाइएका चिकित्सक हुन् ।