धरान : छुवाछूत विरुद्धको स्कूल-स्कूल अभियान माघ २१ गते मंगलबार धरान-१५ स्थित श्री शिक्षा सदन माध्यामिक विद्यालयमा सम्पन्न भएको छ ।

जातीय विभेदको अन्त्य गर्न विद्यार्थीहरुमा जनचेतना फैलाउने मुख्य उद्देश्यले विद्यालयमा दलित विकास समितिले उक्त अभियान सञ्चालन गरेको हो । अभियानमा सम्बोधन गर्दै शिक्षा सदन माध्यामिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर बस्नेत आफ्नो विद्यालयका विद्यार्थीले शिक्षक वा कर्मचारी कसैले पनि जातीय भेदभाव नगरेको र गर्न नहुने बताए ।

अभियानमा दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले भने- ‘मानिसलाई जातीय रुपमा गरेको भेदभाव र छूवाछूत गलत परम्परा र संस्कृति हो । हामीले यस्तो कु-प्रथालाई जरैबाटै उखेल्नु आवश्यक छ । त्यसका लागि विद्यार्थीहरु नै यसको अभियान्ता हुनुपर्छ । शिक्षकहरुले कुप्रथाको अन्त्य गर्न सचेतना फैलाउनु आवश्यक छ ।’

अभियानमा दलित विकास समितिका सदस्य खगेन्द्र नेपालीले सम्बोधन गरेका थिए भने सदस्य रामधारी बासफोर र धनबहादुर हमालले स्वागत गरेका थिए । कार्यक्रम समितिका संयोजक किशोर परियारको अध्यक्षतामा सदस्य सकुन्तला भुषालले सञ्चालन गरेकी थिइन् । अभियानमा विद्यालयका हजारौ विद्यार्थीसहित शिक्षकहरुको समेत सहभागिता रहेको थियो ।