काठमाडौं : विश्वका १५० बढी देशमा नेपाली कामदार रोजगाररत् रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

तीमध्ये व्यक्तिगत र संस्थागत श्रम स्वीकृतिको आधारमा विश्वका १५० भन्दा बढी देशमा नेपाली श्रमिकहरु रहेको विभागले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको हो । विभागको तथ्यांकअनुसार नेपालीहरु सबैभन्दा बढी खाडी मुलुक मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स तथा कतारमा बढी रहेका छन् । वैदेशिक रोजगारीमा जानेहरुमा संस्थागतभन्दा व्यक्तिगतरुपमा विभिन्न देश जानेहरुको संख्या बढी रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

संस्थागतरुपमा श्रम स्वीकृति लिएर ४६ देशमा नेपाली पुगेका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर १५० बढी देशमा पुगेका छन् । वैदेशिक रोजगार विभागको सन् २००० देखि २०१९ सम्मको संस्थागतरुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको तथ्यांकअनुसार मलेसियामा सबैभन्दा बढी १३ लाख ९१ हजार पुगेका छन् ।

यस्तै, कतारमा १९ लाख ६२ हजार तथा साउदी अरेबियामा ८ लाख ७२ हजार नेपाली पुगेका छन् । यसै अवधिमा युनाइटेड अरब इमिरेट्स जानको लागि पाँच लाख २६ हजार तथा कुवेतमा एक लाख एक हजारले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, सन् २००७ पछिको व्यक्तिगतरुपमा कतारको लागि ६ लाख ३७ हजार, साउदी अरेबियाको लागि चार लाख ७७ हजार, युनाइटेड अरब इमिरेट्को लागि तीन लाख ९५ हजार, मलेसियाको लागि एक लाख ६६ हजार, कुवेतको लागि एक लाख तीन हजार तथा बहराइनको लागि ३५ हजार ७३८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

कतिपय देश जानको लागि एक वा दुईजनाले मात्रै पनि श्रम स्वीकृति लिने गरेको विभागले जनाएको छ । कुल व्यक्तिगत १९ लाख ५६ हजार मानिसले व्यक्तिगत श्रम स्वीकृति लिएकामध्ये एक लाख ८३ हजार महिलाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।