धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा सिफारिश भएकामध्ये दुई जना प्रतिष्ठानभित्रैका प्राध्यापक चिकित्सक परेका छन् भने एक जना विराट मेडिकल कलेजका सञ्चालक डाक्टर छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उपकुलपतिमा वीपी प्रतिष्ठानबाट कार्यवाहक उपकुलति प्रा.डा.गुरु खनालसँगै प्रा.डा.सञ्जिव शर्मा सिफारिशमा परेका छन् । डा.खनाल प्रतिष्ठानका रेक्टर पनि हुन् । यस्तै, डा.शर्मा अन्र्तराष्ट्रिय ख्यातीप्राप्त मुटु तथा मृगौला रोग बिशेषज्ञ एवं प्रतिष्ठानको मेडिसिन विभाग प्रमुख पनि हुन् । यस्तै, विराट मेडिकल कलेजका मेडिसिन विभाग प्रमुख डा.ज्ञानेन्द्र गिरी पनि उपकुलपतिको सिफारिशमा परेका छन् ।

सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिले आइतबार साँझ नै तीन जना चिकित्सकको नाम सिफारिशमा गरेको थियो । समितिले आइतबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नाम सिफारिश गरेपनि सार्वजनिक गरेको छैन । उपकुलपति बन्न आवेदन दिएकाहरुले नियुक्तीको लागि चलखेल बढाएपछि स्वास्थ्यमन्त्रीले नाम सार्वजनिक नगर्न कडा निर्देशन दिएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा उपकुलपतिमा सम्भावना भएका प्राध्यापक डाक्टरहरुको बारेमा समाचारहरु आइरहेका छन् ।