धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस पढ्न आउने नयाँ विद्यार्थीहरुमा सिनियरहरुले र्यागिङको नाममा अराजकशैलीमा चरम मानसिक, शारीरिक यातना दिने गरेको खुलेको छ ।

हिजो मंगलबार राती र्यागिङकै कारण प्रतिष्ठानको ब्वाइज होस्टल(छात्रवास) झण्डै ३ घण्टा तनावग्रस्त बन्यो । र्यागिङले गर्दा होस्टल जान नमानेका सालाको छोरालाई पुर्याउन होस्टल पुगेका सुनसरी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष अनिल अग्रवालसहित ४ जनालाई सिनियर विद्यार्थीहरुले ३ घण्टाभन्दा बढी समय थुनेर कब्जामा राखेका थिए । उनीहरुमाथि भौतिक आक्रमण पनि भएको थियो । उनीहरुलाई सिनियर विद्यार्थीको कब्जाबाट प्रहरीले ३ घण्टा लामो प्रयासपछि राती करिब साढे १० बजेतिर मात्र मुक्त गर्न सफल भएको थियो । डिएसपी ढुण्डीराज न्यौपाने आफै होस्टल पुगेर बुधबार ११ बजे छलफल गराउने सर्तमा मात्र विद्यार्थीहरुले निस्कन दिएका थिए । 

bpkihs-ragging1

प्रहरीका अनुसार होस्टल जान नमानेपछि पुर्याउन गएका ४ जनालाई सिनियर विद्यार्थीहरुले गुण्डा आएको भन्दै थुनेर राखेका थिए । उनीहरुले गेटमा पनि ताला लगाएपछि प्रहरीलाई उद्दार गरेर बाहिर निकाल्न हम्मे परेको थियो । विद्यार्थीहरुले नाराबाजी र होहल्ला गरेका थिए । प्रतिष्ठानमा नयाँ भर्ना भएका विद्यार्थी र पुराना सिनियर विद्यार्थीबीच घुलमिल र अन्र्तक्रिया हुने माध्यमकोरुपमा र्यागिङले प्रसय पाउदै आएको छ । तर, र्यागिङको नाममा नयाँ विद्यार्थीहरुमाथि भइरहेको अराजकशैली, चरम मानसिक र शारीरिक यातनाबारे प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुले समेत वेवास्ता गर्दै आइरहेका छन् । ‘सोमबार राती एकदमै नराम्रो गालीगलौज गर्दै उठबस पनि गर्न लगाएछ,मंगलबार बिहानै घर आएर पढ्नै जादिन भन्नथाल्यो,’सुनसरी वाणिज्य संघका द्धितिय उपाध्यक्ष अग्रवालले भने,‘होस्टलमा पुगेर सिनियरलाई पनि यति साह्रो त नगर, बरु लुगा धुवाई अन्य के गर, भन्यौं । राम्ररी नै सम्झाएको हो, एक जनाले चै हतियारसहित आयो भनेर हल्ला फैलाएर त्यस्तो भयो ।’

नयाँ विद्यार्थीहरु अत्यन्तै डर,त्रासमा रहेकोले वीपीमा र्यागिङ अन्त्य हुनुपर्ने उनले बताए । विद्यार्थी पुर्याउन गएका ४ जना मध्ये एक इश्वर गुरुङको टाउकोमा गमलाले चोट लागेको छ । सिनियर विद्यार्थीहरुले रडले प्रहार गर्ने प्रयास गरेको पनि उनले बताए । ‘एकदमै दुःखद घटना हो, नयाँ विद्यार्थीहरु त कति डर त्रासमा रहेछ भन्ने त्यहाँ पुगेपछि थाह भयो,’उनले भने ।

bpkihs-raging