धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डिन प्रा.डा.सि.बि झाले पहिलो बर्षका नयाँ विद्यार्थीहरुमाथि र्यागिङ गर्ने पुराना सिनियर विद्यार्थीहरुमाथि कारबाही गर्ने बताएका छन् ।

मंगलबार रातीको घटनाप्रति उनले दुःख व्यक्त गर्दै र्यागिङ गैरकानुनी भएकोले उक्त घटनाको छानबिनबाट र्यागिङमा संलग्नलाई कारबाही हुने बताए । तर, उनले र्यागिङ भएपछि अभिभावकहरु पनि वार्डेन वा प्रतिष्ठान प्रशासनलाई जानकारी गराउनुको साटो होस्टलभित्र प्रवेश गर्नुपनि गैरकानुनी भएको बताए । ‘र्यागिङ गैरकानुनी हो, कसले गरेको छ, त्यो छानबिनबाट कारबाही हुन्छ,’डिन डा.झाले भने,‘तर अभिभावकहरुले पनि कम्पलेन वार्डेन वा प्रशासनमा गर्नुपर्छ । आफै जर्बजस्ती होस्टलभित्र छिर्न पाइदैन, त्यो गल्ती भएको छ ।’

मंगलबार रातीको घटनाबारे बुधबार दिउँसो डिन डा.झाले पीडित विद्यार्थीका अभिभावक र सिनियर भनिएका विद्यार्थीहरुसँग छुट्टा छुट्टै छलफल गरेका थिए । त्यसक्रममा सिनियर विद्यार्थीहरुले अभिभावक भन्दै अनधिकृतरुपमा होस्टलमा प्रवेश गरेर जे पनि गर्ने धम्की दिएकोले प्रतिष्ठान बाहिर आफुहरुको सुरक्षाको जिम्मा लिनुपर्ने माग गरेका थिए । उता, पीडित विद्यार्थीका अभिभावकहरुले पनि होस्टलमा पुनः र्यागिङको घटना दोहोरिन नहुने माग गरेका थिए । आफुहरुले धम्की नदिएको र बाहिर अप्रिय घटना आफुहरुबाट नहुने पनि पीडितका स्थानीय अभिभावकहरुले प्रतिवद्धता जनाएको डिन झाले बताए । ‘र्यागिङ गैरकानुनी हो, विकृति हो । मैले विद्यार्थीहरुलाई पनि र्यागिङ भएको थाह पाए भने वा कसैले उजुरी गर्यो भने कारबाही गर्ने चेतावनी दिएको छुँ,’उनले भने ।

पीडित विद्यार्थीका अभिभावक एवं सुनसरी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष अनिल अग्रवालले आफुहरुले धम्की नदिएको र सिनियर विद्यार्थीहरुलाई यातना हुने गरी र्यागिङ नगर्न सम्झाएको मात्र बताए । उनले बरु कपडा धुन लगााउन, चिया ल्याउन लगाउन आग्रह गर्दै मानसिक, शारीरिक यातना हुने गरी चै र्यागिङ नगर्न भनेको दाबी गरे ।