धरान : धरान वडा नं. १६ का खानेपानी उपभोक्ता समितिहरुको संस्थागत विकासका लागि वडा कार्यालयले विशेष कार्यक्रम बनाउने भएको छ ।

२० नं. वडाको विष्णुपादुका क्षेत्रको खोला, खोल्सी तथा जरुवाहरुबाट पाईपलाईन विस्तार गरी खानेपानी विगत धेरै वर्षदेखि खानेपानी उपभोग गरिरहेका छन् । उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको वडा कार्यालयमा बसेको भेलामा मुहान संरक्षण तथा समितिको संस्थागत गर्ने सम्बन्धमा छलफल भएको हो । मंगलबार १६ नं. का वडाध्यक्ष दिलकुमार गिरीको अध्यक्षतामा छलफल भएको हो । धरानको खानेपानी समस्यालाई न्यूनिकरण गर्न उपभोक्ता समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्र्दै आएको हुनाले यी समितिको संस्थागत विकास गर्र्न सके खानेपानीको मुहानको संरक्षण गर्न सकिने वडाध्यक्ष गिरीले बताए । आगामी आर्थिक वर्षमा नगर र वडाको योजनामा राखेर यस क्षेत्रमा काम गर्ने समेत गिरीले प्रतिवद्धता जाहेर गरे ।

उपभोक्ता समितिको संस्थागत विकासका लागि विद्यान निर्माण गरी सम्बन्धीत निकायमा दर्ता गर्ने, रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्ने, उपभोक्ताहरुको भेलाको आयोजना गरी पानीको शुद्धिकरण गर्ने र मुहानको संरक्षण तथा वृक्षारोपण गर्ने जस्ता विषयमा व्यापक छलफल भएको थियो । धरानको १६ नं. वडामा रहेको जोर सखुवा, लोकतान्त्रिक, कालीखोला, नौलो बस्ती, सुम्निमा मार्ग लगायतका खानेपानी तथा सरसफाई उपभोक्ता समिति छलफलमा सहभागी भएका थिए ।

भेलामा पानी उपभोग गर्ने उपभोक्तासंग नियमित शुल्क उठाउने, घर घरमा मिटर जडान गर्ने, नीति नियम तयार गर्ने, वेन्च मारकिङ्ग, व्याकस्टोपिङ्ग र नेटवर्किङ्ग समेत गरिएको डिएसओएसका एम एण्ड ई देवीलाल पाण्डेले जानकारी दिए । खानेपानी मन्त्रालय र धरान उपमहानगरपालिको सहकार्यमा डिएसओएसले धरानमा रहेको ८० वटा धरान आसपासको क्षेत्रबाट पाईपलाइन विस्तार गरी खानेपानी उपभोग गरिरहेको पीएसटी सुनसरीका वास ईन्जिनियर रविन्द्र कुमार देवले जानकारी गराए । कुनैपनि समुहको संस्थागत विकास भए मात्र दिगो चाहे जस्तो सफलता प्राप्त हुने समाजशास्त्री मोहन श्रेष्ठले धारणा व्यक्त गरे ।
आयोजनाका ईन्जिनियर रोहित यादव, वडाका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।