धरान : जातका आधारमा कसैले कसैलाई भेदभाव गर्नु हुँदैन र सबै मानिसलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले धरान ६ पानबारीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा छूवाछुत विरुद्धको अभियान माघ २३ गते सम्पन्न भएको छ ।

विद्यालयमा सहायक प्रधानाध्यापक होमनाथ दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त छूवाछूत विरुद्ध स्कूल–स्कूल अभियान धरान उपमहानगरपालिकाको दलित विकास समितिले सञ्चालन गरेको हो । अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि सहायक प्रअ दाहालले अहिलेको समयमा पनि जातका आधारमा भेदभाव तथा छूवाछूत गर्नु मुर्खता भएकोले त्यस्तो कुप्रथाको अन्त्य गर्न विद्यार्थी तथा शिक्षकहरुलाई जागरण ल्याउन अभियान अत्यन्तै उपलब्धीमूलक भएको बताए । उनले धरानमा मात्र नभएर सरकारले देशैभरका विद्यालयहरुमा यस्ता अभियान सञ्चालन गरे चाँडै परिवर्तन आउने बताए ।

अभियानमा दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले स–साना विद्यार्थीहरुबाटै जातीय भेदभाव र छूवाछूत कुप्रथा हो भन्ने सन्देश घरघरमा पु¥याउन र यस्तो कुप्रथाको अन्त्य गर्न शिक्षक, अभिभावक र कर्मचारीहरुमा जनचेतना जगाउन कार्यक्रम सञ्चालन गरिएको बताए । उनले अभियानका विषयमा जानकारी दिँदै दलित जात नभई अवस्था भएकोले त्यस्ता अवस्थाबाट उत्थान र विकास गरी समतामूलक समाज निर्माणमा सबैले जोड दिनुपर्ने बताए ।
अभियानमा हाँस्य कलाकार बिनोद रसाइली जुरेलीले विभिन्न नेता तथा चर्चित कलाकारहरुको अभिनय गरेर विद्यार्थीहरुमा जातीय भेदभाव र छूवाछूत गर्न हुँदैन भन्ने सन्देश प्रवाह गरेका थिए । उनको प्रस्तुतीका कारण विद्यालयका विद्यार्थीहरु निकै आकर्षित भएका थिए । कार्यक्रम सकिए पछि पनि विद्यार्थीहरुले कलाकार जुरेलीलाई छोड्न मानेका थिएनन् । उनले इकु इकुको अभिनय गर्दा स-साना बालबालिकाहरु निकै आकर्षित बनेका थिए ।

अभियानमा विद्यालयका शिक्षक, कर्मचारी र हजारौ विद्यार्थीहरु सहभागि भएका थिए भने अभियानको सञ्चालन दलित विकास समितिका सदस्य धनबहादुर हमालले गरेका थिए । सदस्य खगेन्द्र नेपालीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने अध्यक्षता गरेका समितिका संयोजक किशोर परियारले स्कूल स्कूलमा अभियान सञ्चालन गरिरहँदा अझ धेरै विद्यालयबाट अभियान माग भएको बताए । कार्यक्रम शिक्षा, मनोरञ्जन र चेतनामूलक भएकोले आफूहरुले धरानका ९ वटा विद्यालयमा अभियान सफलतापूर्वक सम्पन्न गरेको बताए । अब शिक्षा निकेतन माविमा मात्र बाँकी रहेको बताए । निकेतनमा माघ २४ गते अभियान सञ्चालन गरिनेछ । अभियानमा समितिका सदस्य धनबहादुर हमाल, सकुन्तला भुषाल र रामधारी बासफोरको सक्रिय सहभागिता रहेको दलित विकास समिति धरान उपमहानगरपालिकाले जानकारी दिएको छ ।