इटहरी : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व अर्थमन्त्री डा रामशरण महतले नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदार लाईमात्र मुद्दा चलाइनु गलत भएको बताएका छन् । प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा महतले राजनैतिक पुर्वाग्रहका आधारमा मुद्दा चलाइएको बताए ।

गच्छदार मन्त्री हुँदा क्याबिनेटले पास गरेको बिषयमा एकजना मन्त्री मात्र फसाउने र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई बचाउने गरि मुद्दा चलाइएको उनको बुझाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा संचारमन्त्रीले डिफेन्स गर्नु भनेको पार्टीगत देखिन्छ ।, उनले भने, यो पक्षपातीपुर्ण ढंगले काम भयो । एमसीसीको बिषयमा बोल्दै उनले जनतामा भ्रम फैल्याउने गरि काम भएको उनको भनाइ छ । वास्तविक कुरा जानकारी नभई विवाद झिक्ने काम भएको उनको तर्क छ ।

यो संयुक्त राष्ट्र संघले अनुमोदन गरेको बिषय हो ।, उनले भने, ५ बर्षमा ५० करोड डलर दिने कुरा हो । त्यो पनि निश्चित मापदण्ड पूरा गरेका मुलुकमा एमसीसी लागू गर्ने भनिएको छ । यहाँ काही नभएको राष्ट्रीयता को कुरा निकालिएको छ । सुशील कोइराला प्रधानमन्त्री र आफू अर्थमन्त्री हुँदा नै यातायात र उर्जामा काम गर्ने गरि एमसीसी स्वीकृत गर्ने काम भएको उनले बताए ।