धरान : समाजको सबैभन्दा पछाडी पारिएका दलितहरु संगठित भएर आफ्नो हक, हित र अधिकार खोज्नु आवश्यक रहेको १५ नम्बर वडा अध्यक्ष नरेश कुमार इवारमले बताएका छन् ।

माघ २५ गते १५ नम्बर वडा कार्यालयमा सम्पन्न भएको १५ नम्बर वडा स्तरीय दलित भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इवारमले भने- ‘समाज विकासक्रममा सबैभन्दा तल पारिएका दलितहरु अब तल्लो तहबाटै संगठित भएर आफुमाथि परेका अन्यायका विरुद्ध आवाज उठाउनु पर्छ । आफ्नो समुदायको उत्थान र विकास गर्न आफै अघि बढ्नुपर्छ । दलित विकास समिति वडा-वडामा गठन हुँदा वडा कार्यालयलाई पनि लक्षित समुदायका कार्यक्रम उपभोक्ता स्वयम्ले सञ्चालन गर्दा प्रभावकारी बन्छ, धरान उपमहानगरपालिकामा भएको दलित विकास समिति उत्कृष्ट समिति हो यसबाट देशका अन्य स्थानीय तहले पनि सिको गर्दा राम्रो हुन्छ ।’

भेलामा दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले दलित बर्गको उत्थान र विकास गर्न समिति क्रियाशील भएको बताए । आफ्नो समुदायमा क-–के कार्यक्रम आवश्यकता छ र कसरी समुदायको हित हुन्छ भनेर योजना बनाउने, वडामा पेश गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी समितिको हुने बताए । समिति वडा भेलाबाट गठन हुने भएकोले राजनीतिक आग्रह–पूर्वाग्रह कसैले राख्न नमिल्ने बताए । दलित वडा सदस्य समितिको अध्यक्ष रहने कार्यबिधि स्पष्ट भएकोले अन्य पदाधीकारी तथा सदस्यहरु खुल्ला रुपमा भेलाबाटै चयन हुने र त्यस समिति वडा कार्यालयको मातहतमा रहने भएकोले धरानका २० वटै वडामा दलित बर्गको कार्यक्रम सञ्चालन हुने बताए । धरानका सबै वडामा दलित बर्गका लागि बजेट बिनियोजन समेत भइसकेकोले त्यसको कार्यान्वयनमा समेत समिति आवश्यक रहेकोले चालु आ.व.२०७६/०७७ को बार्षिक कार्यक्रम अन्तर्गत नै वडा समिति गठनको कार्यक्रम रहेको उनले स्पष्ट बनाए । वडा भेलामा दलित विकास समिति धरान उपमहानगरपालिकाले स्थापना देखि हालसम्म गरेका गतिविधिमा समेत प्रष्ट पारेका थिए ।
दलित समुदायको उत्थान तथा विकास गर्न वडा वडामा दलित विकास समिति गठन गर्ने कार्यक्रम धरान उपमहानगरपालिका सामाजिक विकास शाखाबाट स्वीकृत भई सम्झौता अनुसार कार्यक्रम अघि बढेको जानकारी दिँदै समितिका सदस्य खगेन्द्र नेपालीले धरानका अन्य वडाहरुमा पनि केहि समय भित्रै समिति गठन गरिसक्ने बताए । दलितका नाममा निर्वाचित भएका जनप्रतिनिधि वडा सदस्यहरुले आफ्नो कार्यकालमा गरेका सम्पूर्ण कार्यको सूची जनताका बीचमा प्रस्तुत गर्नुपर्ने बताउँदै त्यसका लागि निर्वाचित प्रतिनिधिले राज्यबाट सेवा सुविधा लिने मात्र काम गरेर समय बिताउनु हुँदैन भन्ने धारणा राखे । दलित जनप्रतिनिधिहरुले आफ्नो दायित्व पुरा गर्न समेत समितिले बाध्य बनाउने भएकोले समिति समस्त दलित वर्गको हितमा रहेको बताए ।
भेला समितिका संयोजक तथा कार्यपालिका सदस्य किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले दलित जनप्रतिनिधिहरु सम्पूर्ण दलित बर्गको लागि निर्वाचित भएका कारण समितिमार्फत काम गर्दा जनप्रतिनिधिहरुलाई सहज हुने बताए । भेलाको सञ्चालन समितिका सदस्य धनबहादुर हमालले गरेका थिए भने सदस्य रामधारी बासफोरले स्वागत गरेका थिए ।
भेलाबाट निरमाया विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय दलित विकास १५ नम्बर वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गिता विश्वकर्मा, सचिव दुर्गा खाती, सहसचिव धनमाया विश्वकर्मा, कोषाध्यक्ष शुक्र रसाइली, सदस्यहरुमा कला शंकर, कञ्चन दर्जी, सुनिता सुन्दास, राजु हिङमाङ, कमल विश्वकर्मा, सञ्जिता रोक्का र लिला दर्जी चयन भएका छन् । नव निर्वाचित समितिलाई वडा अध्यक्ष नरेश कुमार इवारमले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।