इटहरी : बालुवाटार किर्ते प्रकरणमा पुर्व प्रधानमन्त्रीहरु तथा नेकपा नेताहरूलाई बचाउन लागि परेको भन्दै नेविसङ्घ सुनसरीले राके जुलुस निकालेको छ ।

सुनसरीको इटहरीमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको समेत छ । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही हिसाबले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेबिसङ्घ आक्रोशित भएको हो ।

साँझ ६ बजे इटहरी स्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुस १ सय मिटर अगाडि पुग्न नपाउँदै प्रहरीको हस्तक्षेपमा परेको थियो । तर प्रहरीको निगरानी एकातिर मात्र भएकोले इटहरीको चारै कुनाबाट एकसाथ जुलुस निस्किएको थियोे ।

ललिता निवास प्रकरणमा जोड्दै गच्छदारलाई अख्तियारले मुद्दा चलाएपछि रुष्ट कांग्रेस भातृ संगठन यतिबेला दिनहुँ सडक आन्दोलनमा छ । जुलुसमा निवर्तमान केन्द्रिय उपसभापति विकास केसी सहित इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलको सहभागिता रहेको थियो । अख्तियारले सरकारी जग्गा व्व्यक्तिका नाममा नामसारी गर्ने निर्णयको नेतृत्व गर्ने तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गाको स्वामित्व आफ्नो नाममा लिने नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जोगाएकोले निश्पक्ष छानबिनको लागि दबाब दिन जुलुस गरिएको केसीले बताए ।

अनावश्यक आरोप लगाउदै रिसिभी साध्ने गरि कांग्रेस नेताहरुलाई फसाउने र अख्तियार सरकारको मतियार बन्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।