धरान : खानेपानी समस्याविरुद्ध धरान-९ का जनप्रनिधिहरुले नगरसभा अबरोध गर्ने बताएका छन् । वडामा खानेपानी सहज रुपमा वितरण गर्न दबाद दिने उद्देश्यले फागुन २ र ३ गते हुन लागेको धरान उपमहानगरको छैठौं नगरसभालाई अबरोध गर्ने निर्णय गरेका हुन् ।

वडाध्यक्ष रत्न कट्वालको अध्यक्षतामा सोमबार विहान बसेको वडाको बैठकले नगरसभा अबरोध गर्ने निर्णय गरेको हो । उक्त निर्णयमा वडा सदस्यहरु सबिना शाक्य, रिचा शंकर, मनोज कुमार राउत र हरद रत्न पार्थिबको हस्ताक्षर रहेको छ । करिब एक महिना अघि वडाबासीसहित रित्तो गाग्री र भाडाकुडा बोकेर धरान-१३ स्थित नेपाल खानेपानी संस्थान धरान शाखा कार्यालय पुगेका वडाध्यक्ष कट्वालसहित चार सदस्यीयहरुले माघ ९ गतेसम्म धर्ना दिएका थिए । धर्ना बसेका उनीहरुलाई धरान खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष एबंम उपमहानगरका मेयर तिलक राईले तत्कालै वडामा सहज रुपमा खानेपानीको व्यावस्था गरिदिने प्रतिबद्धता जनाउदै धर्ना स्थगित गर्न उनीहरुलाई आग्रह गरेपछि धर्ना स्थगीत गरेका थिए । तर, एक महिना बित्दा समेत मेयर राईले आफ्नो प्रतिबद्धता पूरा नगरेकोले खानेपानी वितरण सहजताका लागि बाध्य भएर नगरसभा अबरोध गर्ने निर्णय गरिएको वडाध्यक्ष कट्वालले प्रतिक्रिया दिए ।

‘मेयर साबले वडामा तत्कालै आजैका मितिदेखी सहज रुपमा खानेपानी वितरण गर्ने र आफुहरुको धर्ना स्थगीत गर्न अनुरोध गरेपछि हामीले धर्ना स्थगीत गरेका थियौं’ वडाध्यक्ष कट्वालले भने, ‘खोई त ? एक महिना बित्न लाग्यो सहज रुपमा वडाबासीले पानी खान पाएका छैनन् मेयर साबले आफ्नो बचन पूरा गर्नुभएन त्यसैले अब हामी पुनः आन्दोलनमा जान बाध्य छौं ।’

उनले थपे ‘हामी नगरसभा भित्र आन्दोलन गछौं, वडाबासीहरु रिक्तो गाग्रो, भाडाकुडासहित बाहिर आन्दोलन गर्छन् ।’ विगत सात वर्षदेखी वडामा खानेपानीको चरम अभाव झेल्दै आएको र खानेपानी संस्थानले आफुहरुको पटक–पटकको आग्रह बेवास्ता गरेपछि आन्दोलनमा उत्रिएको स्मरण गराउदै मेयरले समेत गम्भिर रुपमा नलिएको भन्दै आपत्ति जनाए । उनले सबै वडामा खानेपानीको समस्या रहेकोले गम्भिर रुपमा उठानका लागि नगरसभामा लगेर छलफल गराउन मेयरलाई ध्यानाकर्षण गराएपनि त्यो विषयमा चासो नदिएको वडाध्यक्ष कट्वालको आरोप छ । ‘हामीले यो विषयलाई नगरसभामा लानुपर्छ भनेर मेयर साबलाई पटक–पटक आग्रह गर्यौं, तर उहाँले लानुभएन’ उनले भने, ‘किन लानुभएन ? त्यो हामीलाई थाहा भएन यसैमा हाम्रो आपत्ति छ, त्यसैले मैले कार्यपालिका बैठग नै बहिस्कार गरेँ ।’ मेयरको निर्देशनमा आयोजना र संस्थानको इन्टरकनेक्सनमा पाइप जोड्न काम भएपनि त्यसले समस्या हल नभएको बताए ।

उनले खानेपानी वितरणको विश्वासिलो वाताबरण नबनेसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिए । ‘अब हामीलाई लिखित रुपमा प्रतिबद्धता चाहिन्छ नत्र हामी आन्दोलनलाई जारी राख्छौं ।’ उनले भने ।

नगरसभा अबरोध गर्ने वडाका जनप्रतिनिधिहरुको निर्णय बारे मेयर राईलाई कपुरी न्यूजले बुझ्दा यस विषयमा आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिए । ‘खै त्यो विषयमा मलाई थाहा भएन, मलाई केही जानकारी आएको छैन ।’ मेयर राईले फोन सम्पर्कमा भने । करिब सात वर्षदेखी खानेपानीको चरम अभाव झेल्दै आएका वडाबासीले पटक–पटक आन्दोलन गदै आएका छन् ।