झापा : प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुन ४ गते गृहनगर आउने भएका छन् । दमक नगरपालिकाले प्रधानमन्त्री ओलीको कार्यक्रम तालिका समेत आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको तालिका अनुसार प्रधानमन्त्री ओली आगामी ४ गते आईतबार मध्यान्न १२ बजे गृहनगर दमक आईपुग्नेछन् ।
दिउँसो सवा १२ बजे दमक ४ स्थित कृष्णमन्दिर चोकमा सडक उद्घाटन, १ बजे दमक र मोरङको मिक्लाजुङ्ग गाउँपालिकाको सिमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन त्यसैगरि सवा १ बजे बेलडाँगीस्थित जिरोप्वाईन्टमा रबि चिसापानी सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसैगरि प्रधानमन्त्री ओलीले दिउसो साढे १ बजे बेलडाँगीस्थित खेलमैदानमा आयोजना हुने एक कार्यक्रममा मन्तब्य राख्नेछन् । प्रधानमन्त्री ओलीको अन्तिम कार्यक्रममा दिउँसो साँढे २ बजे दमक नगरपालिका वडा नम्बर १ मा निर्मित बिपन्न नमूना बस्तिको उद्घाटनको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली आईतबारै काठमाण्डौ फर्कनेछन् ।