चितवन: चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा जिल्ला ईन्चार्ज कृष्ण प्रसाद खनाल र पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षको टेबलमा रहेको सिसा फुटेको छ।  अन्य सामान तोडफोड हुनुका साथै झडप पनि भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको हो ।उनीहरुले चितवनमा रहेको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । पूर्व माओवादी तर्फका विद्यार्थीहरुले एकीकृत भएर बनेको अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन् ।

पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।घटनाले उग्र रुप लिन थालेपछि पार्टी कार्यालयमा अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

रामपुर क्याम्पसमा पूर्व एमाले र माओवादीका विद्यार्थीबीच विवाद छ ।