झापा : झापामा जारी सताक्षी गोल्डकपको दोस्रो दीनको खेलमा बेलबारी फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार  सेमीफाईनलमा प्रवेश गरेको छ । बेलबारी प्रदेश लिगको उपविजेता टिम हो । खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको पाँच मिनेटपछि सञ्जोगकै एसिस्टमा सुशील राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३-० मा पुर्याएका थिए ।

त्यस्तै, खेलको २३ औँ मिनटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्रि स्टारका डिफेन्सले क्लियर गरिदिए । पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको फ्रिकिक प्रहार ब्लक हुँदा बेलबारीले गोल गर्ने अवसर गुमायो । भूषण सुब्बाको सो प्रहार ब्लक भएको थियो । खेलका म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए ।

प्रतियोगिताको विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

तस्बिर साभार : https://jhapatoday.com/