धरान : नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कुनै पनि बहानामा जनताको प्रजातन्त्रीक अधिकारलाई कुण्ठित गर्ने प्रयत्न नगर्न चेतावनी दिएका छन् ।

७० औं राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा धरान उपमहानगरपालिकाको आयोजनामा बुधबार धरानमा भएको कार्यक्रमलाई सम्बोधन गदै सभापती देउवाले यस्तो बताएका हुन् । ”कुनै पनि बहानामा जनताको प्रजातन्त्रीक अधिकारलाई खोस्न पाइदैन, मास्न पाइदैन, यसको रक्षा सबैले गर्नुपर्छ’ उनले भने जनताको बोल्न पाउने अधिकार, संगठन गर्न पाउने अधिकार हुन्छ, सार्वभौम सत्ता सम्पन्न जनता हो शक्तिको केन्द्र जनता हो “

सभापती देउवाले स्वतन्त्र न्यायपालिका, सेना, प्रहरी, ब्यूरोक्रेसीमाथी बिना कारण कसैले पनि हस्तक्षेप गर्न नहुने बताए । ”स्वतन्त्र न्यायपालिका, सेना, प्रहरी, ब्यूरोक्रेसी कसैलाई पनि कुनै किसिमको हस्तक्षेप हुनुहुदैन ।“ उनले भने । विभिन्न काल खण्डमा भएको आन्दोलनबाट देशमा अहिलेको व्यावस्था ल्याउन सफल भएको बताउदै प्राप्त उपलब्धी रक्षा गदै देशलाई समृद्धतर्फ अगाडी बढाउन सके मात्र शहिदको सपना पूरा हुने उनको तर्क थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन राष्ट्रिय एकताको आवश्यकता रहेको औल्याए । देशमा अहिले राष्ट्रिय एकताको आवश्यकता छ, हामी सबै एक भएर अगाडी बढ्नु पर्छ जस्तो लाग्छ कांग्रेस सभापती देउवाले भने ‘राष्ट्रिय एकता भयो भने देशमा गरिबी हट्छ, हाम्रो देश सम्पन्न हुनसक्छ देश विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।’

उनले कांग्रेस राष्ट्रिय एकताको पक्षमा रहेको स्पष्ट पार्दै सबै मिलेर अघि बढ्नु पर्ने बताए । उनले भने ‘हाम्रो पार्टी राष्ट्रिय एकताको खिलापमा छैन, हाम्रो पार्टी एकताको पक्षमा छ । 'ठुलो त्याग र बलिदानिबाट ल्याएको लोकतन्त्रलाई बचाउन सबै एक जुट हुनुपर्ने खाँचो औल्याए । २००७ साल, ०४६, ०६२-०६३ को आन्दोलनबाट प्राप्त भएको जनताको अधिकारलाई कुनै पनि बहानामा हटाउन नमिल्ने बताए ।

एक फरक प्रशंगमा सभापती देउवाले धरानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रचुर सम्भावना रहेको बताए । धरानलाई पूर्वको पर्यटकीय राजधानीको रुपमा विकास गर्न सकिने बताए । ‘धरानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना छ’ उनले भने ‘धरानलाई पूर्वकै पर्यटकीय राजधानी बनाउन सकिन्छ ।’