धरान : पब्लिक हाईस्कुल धरानले आफ्नो बार्षिक उत्सवको अबसरमा मिनि म्याराथुन प्रतियोगिता तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको ७३ औं वार्षिक उत्सवको अवसरमा अयोजित प्रतियोगितामा छात्र तर्फ कक्षा १२ का मनकुमार राई, कक्षा ११ का बिमान लिम्बु र कक्षा ११ कै अनिल तामाङ्ग क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । छात्रा तर्फ कक्षा ११ की सुजाता राई, गंगा लिम्बु र कक्षा १२ की सुस्मिता राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । प्रतियोगितालाई धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले रिवन काटेर शुरु गरेका थिए । प्रतियोगितामा विद्यालयका ११९ जना छात्रछात्रा सहभागी भएका थिए ।  प्रतियोगिता पछि विद्यार्थीहरुको सहभागीतामा विद्यालय आउने जाने प्रमूख सडक चतरालाईनको सरसफाई समेत गरिएको थियो ।

२००३ सालमा स्थापित विद्यालय यस वर्षको सुनसरीकै नमुना विद्यालय विकासको रुपमा छनौटमा परेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पनी पठनपाठन गर्ने कुरामा जोड दिईरहेको प्रधानाध्यापक इन्द्रमोहन झाले बताए । निजि विद्यायमा महंगो शुल्क तिरेर पढ्नु पर्ने बाध्यताबाट कम आर्थिक अवस्था भएकाहरुले राहत पाउने उदेश्यका साथ अंग्रेजी माध्यमाबाट पठनपाठन प्रारम्भ गरीएको प्रधानाध्यापक झाले बताए ।

बिहिबार हुने वार्षिक उत्सवको समापन रमारोहमा प्रगति प्रतिवेदन प्रस्तुत गरीने, छात्रवृत्ति प्रदान र पुरस्कार वितरण कार्यक्रम राखिएको बिद्यालयले जनाएको छ । विद्यार्थीहबाट तयार गरिएको खाद्य परिकार, साईन्स तथा ईलेक्ट्रोनिक्स प्रर्दशनी समेत राखिएको छ । विद्यालयबाट सम्पूर्ण अभिभावक तथा आमन्त्रित महानुभावहरुलाई सहभागिताकालागि विद्यालयले अनुरोध समेत गरेको छ ।