धरान : पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली कांग्रेसले उपनिर्वाचनमा चुनाव जित्न सफल भएको बताएका छन् ।

७० औं प्रजातन्त्र दिवशको अवसरमा नेपाली कांग्रेस धरानले आयोजना गरेको धन्यवाद तथा सम्मान कार्यक्रम सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘मलाई वास्तवमा धरानमा चुनाव जित्छ भन्ने आशा थिएन, बरु हामिले दाङ र पोखरामा जित्छ भन्ने विश्वास लिएका थियौं, धरानमा चुनाव जित्यो, उता हार्यो ।’ उनले लामोसमयदेखि नेकपाले जित्दै आएको धरानमा कांग्रेसले जित्छ भन्ने आश नभएको बताउँदै मेयर तिलक राईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । सभापति देउवाले वर्तमान सरकारसँग जनता वाक्क भइसकेको बताए । उनले भने, ‘वर्तमान सरकार कुरा गर्छ, पुरा गर्दैन ।’ उनले प्रेस काउन्सिल, प्रेस स्वतन्त्रतामाथि वर्तमान सरकारले अंकुश लगाउने काम गरेको आरोप लगाए । कम्युन्ष्टि सरकार र पञ्चायत सरकार उस्तै रहेको पनि उनले सभामा बताए । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सत्तामा पुगेको दुई वर्ष बितिसक्दा पनि कम्यिुष्टि सरकारले सिन्को पनि भाँच्न नसकेको बताए । महामन्त्री कोईरालाले धरानमा मेयरले जित्नु भनेको कांग्रेस एक जुट भएको बताए । उनले भने, ‘यदि कांग्रेस एकजुट हुने हो भने आगामी निर्वाचनमा सरकार बनाउँछ ।’

त्यसैगरी सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनता वर्तमान ओली सरकारसँग असन्तृष्ट रहेको बताएका छन् । उनले जनता महंगी, कुशासन र भ्रष्टाचारदेखि असन्तृष्ट रहेको बताएका हुन् । आमनागरिकले पाउने सेवा सुविधामाथि वर्तमान सरकारले थिचोमिचो गरेको आरोप लगाएका छन् । उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसका लागि अबसर र चूनौति पनि रहेको बताए ।

केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले मेयर तिलक राईलाई बधाई तथा शुभकामना दिँदै धरानले एउटा एकताको सन्देश दिएको बताईन । उनले त्यो एकता पार्टीभित्र पनि हुन आवश्यक रहेको बताईन् । लोकतन्त्रले जित्दामात्र जनता विकासको अनुभुति गर्न पाउने बताएकी थिइन् । वर्तमान सरकारले प्रजातन्त्र मूल्य र मान्यता ओझेलमा पारेर अघि बढेको उनले बताईन् । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्यिुष्टि सरकारले राज्य व्यवस्थालाई आफ्नै बाटो ढाँचातिर लगेको बताएका छन् । उनले भने, ‘राज्यले दिएको मौलिक अधिकार कुण्ठित गरेको, राष्ट्रपति शासन, कम्युनिष्ट शासनतिर लागेको छ ।’ उनले लोकतन्त्र कमजोर भए कांग्रेस कमजोर हुने बताए । कांग्रेस कमजोर भयो भने मुलुक उधोगति तिर जाने बताए । उनले भने, ‘लोकतन्त्र बलियो भयो भने कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भयो भने राष्ट्रियता बलियो हुन्छ ।’

सभामा पूर्ववाणिज्यमन्त्री मिन विश्वकर्मा, पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व प्रदेशप्रमुख डा. गोविन्द तुम्बाहाङ, नेपाली कांग्रेस केन्द्रिय सदस्य भिम आंदेम्बे, सुनसरी जिल्ला सभापति राजिव कोईराला लगायत नेताहरुले मेयर राईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।