काठमाडौं : नेपाल तत्कालीन नेकपा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

पार्टी एकतापछि फागुन १ मा जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । पूर्व एमाले खेमाका नेताले हिंसात्मक आन्दोलन अस्वीकार गरिरहेका बेला पार्टीले फागुन १ लाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर मध्यमार्ग अपनाएको भए पनि रुकुम लगायत पूर्वमाओवादी प्रभावित क्षेत्रमा केन्द्रको निर्णय उल्लंघन भयो । निर्णय उल्लंघनसँगै सत्तारुढ नेकपामा जनआन्दोलन कि जनयुद्ध भन्ने विवाद सुरु भएको छ ।

पार्टीको आगामी महाधिवेशनमा यही विषयले प्रमुखता पाउने आँकलन भइरहेका बेला यो विषय अहिले सतहमा आएको छ । पार्टी एकीकरणकै बेला जनयुद्ध मात्र स्वीकार जानुपर्छ भन्ने पूर्वमाओवादी खेमाको भनाइलाई पूर्व एमाले खेमाले अस्वीकार गरेको थियो । यसैकारण करिब–करिब पार्टी एकीकरण नहुने अवस्थामा पुगेपछि दुवै पक्षका नेताहरु यसमा शान्तिपूर्ण जनआन्दोलन पनि समेट्न सहमत भएपछि पार्टी एकता भएको थियो । -नागरिक दैनिकबाट