काठमाडौं : दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए । खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा र्मायो ।

दिवसलाई प्रहरीले पक्राउ गरेर लग्यो । ‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू गए,’ कुञ्जनले भने, ‘पछि थाहा भयो अरूले जाँच दिएर भाषा पास गरी आएको आरोपमा उनलाई समातिएको रहेछ । अहिले डिटेन्सन सेन्टरमा राखेर जाँच कसले दिएको हो भनी सोधखोज गरिरहेका छन् भन्दैथ्यो । अर्को हप्ता नेपाल पठाउने रे ।’ केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेकोछ । नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यागन विभागले दिएको बताएको छ । ‘हामीलाई कोरियाली भाषामा अरूका नामा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ,’ उनले भने । -कान्तिपुर दैनिकबाट