कञ्चनपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी) को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन् ।

सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताए ।

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उनको भनाइ थियो । “एमसिसीबारे समय लिएर नै अध्ययनन गर्नुपर्छ”, सरकारका प्रवक्ता बाँस्कोटाले भने, “एमसिसी नेपालको हितमा भएमात्रै लागू गर्छौँ ।”

उनले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि सरकारले राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताए । निजी क्षेत्रले पारदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री
बाँस्कोटाको भनाइ थियो ।