धरान : धरान रन समूहद्वारा आयोजित ‘प्रभु बैंक १० के रन आठौं नेवा च्यारिटी रनको सम्पूर्ण तयारी पूरा भएको छ ।
आउदो शनिबार बिहान ७ बजे आयोजना हुन लागेको च्यारिटी रनको आवश्यक तयारी पूरा भएको विहीबार धरानमा गरिएको पत्रकार सम्मेलन समूहका अध्यक्ष रोमू राईले बताउनुभयो । यसपटक विभिन्न उमेर समूहका करिब ४ हजार धावक धाविकाले रनमा सहभागीता जनाउन लागेको समूहका अध्यक्ष राईले जानकारी दिए । ‘यस पटक रनमा करिब ४ हजार जनाको सहभागीता हुन्छ अनलाइन फर्म भर्ने क्रम जारी छ ’ उनले भने ।

उनका अनुसार यस पटक मलेसिया र बंगलादेशबाट समेत धावक, धाविकाहरुको सहभागीता रहने छ । यस्तै, यूके, हङकङ, भारतलगायतका देशबाट पनि सहभागीता जनाउने छन् । ‘यस पटक मलेसियाबाट २ जना, बंगलादेशबाट ३ जना अफ्रिकाबाट पनि एक जनाको सहभागीता हुन्छ’ उनले भने ‘यूके, हङकङबाट नेपालीहरु आउनु हुन्छ, भारतको सिक्किम, दार्जिलिङलगायतबाट करिब ३०–३५ जनाले फर्म भर्नुभएको छ आउनुहुन्छ ।’ अन्तर्राष्ट्रिय मान्यता अनुसार १० किलोमिटर दुरी पूरा गर्नुपर्नेछ । ७ औं संस्करणदेखि दुई किलोमिटर थप गरेर कुल १० किलोमिटर पु¥याइएको हो । त्यसैगरी, १२ वर्षभन्दा मुनिका धावक धाविकाहरुको लागि ३ किलोमिटर च्यारिटी रन गराउने आयोजकले जनाएको छ । पूर्व मिस नेपाल श्रृखला खतिवडाको विशेष अतिथीको रुपमा उपस्थिती हुने छ । उनी पनि दौडमा सहभागी हुने छन् । कार्यक्रममा यूके निबासी पाण्डब महत्तोको समेत सहभागीता रहने छ । उनी क्यान्सर रोग लागेर निको भएका हुन् । प्रतियोगिताको खुल्लातर्फको महिला र पुरुष पहिलो, दोस्रो र तेस्रो बन्नेले क्रमसः नगद ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा यसपटक १० हजार बृद्धि गरिएको हो । त्यसैगरी, १२ वर्षभन्दा मुनिका, १२ देखि १६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रानको महिला र पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रोले क्रमस नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । धरानका स्थानीय धावक धाविकालाई प्रोत्साहन गदै पहिलो र दोस्रो हुने १ जना महिला र १ जना पुरुषलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । रन पूरा गरी आइपुग्ने २ हजार जना धावक धाविकालाई टिसर्ट र मेडल प्रदान गरिने समूहका संस्थापक अध्यक्ष सन्तोष राईले बताए । उनका अनुसार रनबाट बचेको रकमले ‘नेवा एजुकेशन फण्ड’ अन्तर्गत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत २४ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई प्रदान गदै आएको छात्रबृद्धिलाई निरन्तरता दिइने छ ।

दौड प्रतियोगिताको रुटः

लोकतान्त्रिक चौतारी भानुचोकबाट पुतली लाइन, दुर्गा चोक, बुद्ध चोक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी ट्याङकी, गणेशमान चोक, रंगशाला हुँदै जिरो पाइन्ट, अमरहाट, रेडक्रस भवन, हात्तिसार, विजयपुर चोकहुँदै, पिण्डेश्वर मन्दिर, चिनियाँ चोक, पुरानो बजार, देशीलाइन हुँदै पुनः भानुचोकमा आएर समापन हुने छ ।