धरान :  धरान–१२ स्थित पब्लिक मा.वि. को ७३ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

गत विहीबारदेखी शुरु भएको सप्ताहब्यापी कार्यक्रममा रक्तदान, सरसफाइ, मिनी म्याराथुनलगायत कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय परिसरमा आयोजना गरिएको समापन कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेको विज्ञानका विभिन्न सामग्रीहरु समेत प्रदर्शनी गरेका थिए । विद्यार्थीहरुले विभिन्न जातीय पोशाकमा नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य इन्द्र मोहन झाले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन, आय–ब्याय प्रस्तुत गदै भावी योजनाको बारे बताए ।उनले सबैको सहयोगमा विद्यालयलाई नमुना विद्यालयको सुचिमा अटाउन सफल भएको भन्दै सबैलाई धन्यबाद व्यक्त गरे । विद्यालयको ५ कक्षासम्म अनिवार्य अग्रेजी माध्यमबाट पढाइ हुने गरेको झाले बताए । विद्यालयमा पेपर लेस डिजिटल क्लास सञ्चालन गर्ने योजना रहेको र आगामी श्रावणसम्म होस्टल समेत सञ्चालन गर्ने योजना रहेको बताए । कार्यक्रममा कक्षा शिशुदेखी कक्षा १२ सम्मका ९५ जना उत्कृष्ठ विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ । विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएको १३ वटा अध्यक्षकोषबाट आएको रकमले विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको जनाएको छ ।

कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ का प्रमुख डम्बर कुमार मालाक, शिक्षा विकास सम्बनवय इकाई सुनसरीका प्रमुख रमेश बहादुर दाहाल, धरान शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वाल र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि कार्की लगायतको उपस्थिती रहेको थियो । विद्यालयमा १ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् ।