झापा : स्थानीय खोलाबाट वालुवा उत्खनन् गरिरहेको अवस्थामा झापा प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

आज शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को दुधे खोलाबाट जवरजस्ती बालुवा निकालेको खवर स्थानीयले प्रहरीलाई गरेपछी दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । ट्याक्टर स्थानीय नविन खरेल र खड्ग अधिकारीको भएको ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले जनाएका छन् ।

प्रहरीले मे १ त ६४८४ र प्रदेश १-०२-००३ त २६८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । पक्राउ गरेको ट्याक्टरलाई ईलाका प्रहरी कार्यलय झिलझिलेमा राखिएको छ । ट्याक्टरले वालुबा निकालेको भु क्षेत्र नजिकै मानव वस्ती छ । सरकारले मानव वस्ती नजिक क्षेत्र र पुर्व पश्चिम राजमार्ग नजिकैको पाँचसय मिटरबाट निर्माण सामाग्री उत्खनन् गर्न नपाउने कानुनी व्यवस्था गरेको छ ।

सो क्षेत्रमा आसपासमा संघीय सरकारको १५ लाख र शिवसताक्षी नगरको ३ लाखको लागतमा स्थायी तटवन्धको काम भईरहेको स्थानीयले बताए । ट्याक्टरका चालकलाई पटक पटक उत्खनन् नगर्न गरेको आग्रलाई वेवास्ता गरेपछी वाध्य भएर प्रहरीलाई खवर गरेको बताए ।

शिवसताक्षी नगरले कनकाई र कमल नदिसहित दुधे र सतासी खोलाको पनि निश्चित मापदण्ड राखेर खोलाबाट उत्पादित निर्माण सामाग्री उत्खननका लागि ठेक्का लगाएको छ । नगरका सुचना अधिकारी प्रकाश चौधरीका अनुसार मापदण्ड विपरित निर्माण सामाग्री उत्खनन् गर्न नपाईने बताए ।