धरान : हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।

आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुने शिङ्सा कल्याण केन्द्र सुनसरीका अध्यक्ष निमा पोङ्सुवाले जानकारी दिए ।

ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्बो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्बो ल्होसार नामकरण भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छन् । ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले ग्याल्बो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।