चक्रघट्टी : नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० लाई लक्षित गर्दै यही फाल्गुन १७ गते चक्रघट्टी जेसीजले ‘प्रथम बराहक्षेत्र रन २०७६’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

जेसीजले शनिबार आफ्नो सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो । कार्यक्रमका बारेमा बोल्दै जेसीज अध्यक्ष सन्तोष चौलागाईंले कार्यक्रम बराहक्षेत्र नगरपालिकामा आजसम्मकै सबैभन्दा ठूलो हाफ म्याराथुन प्रतियोगिता हुने तथा भिजिट नेपाल २०२० अन्तरगतको पहिलो बृहत कार्यक्रम हुने दाबी गरे । बराहक्षेत्र नगरपालिकामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्दन गर्दै वराहक्षेत्रलाई देशभरि नै चिनाउनका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने समेत उनले बताए ।

आन्तरिक पर्यटन प्रवर्दधन गर्दै नेपाल सरकारले गौरवको कार्यक्रमका रूपमा लिएको भिजिट नेपाल २०२० को कार्यक्रमलाई सार्थक बनाउनका लागि आयोजित प्रथम बराहक्षेत्र रन २०७६ कार्यक्रम बराहक्षेत्र नगरपालिकाको चतरा स्थित कुम्भ स्तम्भबाट सुरू भई बराहक्षेत्र नगरपालिका ६, चक्रघट्टी स्थित महेन्द्र मा.विको प्राङ्गणमा आएर समापन हुनेछ ।  प्रतियोगितामा प्रथम हुनेले नगद रू. २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भनें क्रमशः दोस्रोले रू. १२ हजार, तेस्रो हुनेले रू. ७ हजार र सान्त्वना हुनेले रू. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । दौडमा भाग लिनका लागि १८ बर्ष उमेर पूरा भई ४० बर्ष ननाघेको हुनुपर्ने छ ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिका एवम् गृह जिल्लाका धरान, इटहरी, इनरूवा साथै मोरङ, उदयपुर, सप्तरी, सिराहा, झापा, धनकुटा, भोजपुर लगायतका छिमेकी जिल्लाहरूबाट करिब ५ सय धावक धाविकाको उपस्थित भई कार्यक्रममा सहभागी हुने अनुमान गरिएको समेत सो पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

करिब ६ लाख बराबरको लागतमा संचालन हुने सो कार्यक्रमका लागि केही उत्पादक कम्पनीहरू, स्थानीय समाजसेवी, जेसीजका मानार्थ सदस्य तथा पूर्व अध्यक्षहरूबाट सहयोग प्राप्त भएको सो कार्यक्रमका कार्यक्रम संयोजक लोमनाथ दाहालले जानकारी दिए ।