धरान :  मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा बेलबारी फुटबल क्लब विरुद्ध ४-० गोलको शानदार जित निकाल्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

मनाङलाई जिताउन दयानन्दले २ गोल गरे भने निशान लिम्बू र विमल रानाले समान एक-एक गोल गरेका थिए । मनाङले खेलको २३ औं मिनेटमा निशान लिम्बूको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

खेलमा दुई गोल गरेका दयानन्द म्यान अफ द म्याच घोषित भए । यससँगै मनाङ सेमिफाइल पुग्ने तेस्रो क्लब बन्यो । यस अघि यूके एफसी भारत र विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

Goldcup-3

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फूटबल क्लबलाई हराउँदै युके एफसी अन्तिम चारमा प्रवेश गरेको हो । अब मनाङले सेमिफाइनलमा यूकेएफसीसँग खेल्नेछ । यस्तै प्रतियोगिताको दोस्रो खेलमा पुलिसले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रशिक्षकको भनाई
अनिल गुरुङ  ( महासचिब) : मनाङ मर्स्याङदी क्लब, काठमाण्डौं
बुढासुब्बा गोल्डकपमा मनाङ मर्स्याङदी क्लबले सताक्षी गोल्डकप खेलेर निकै लामो समय रेष्ट गरेका कारण राम्रो खेल खेल्न सफल भयो । सताक्षीमा हार ब्यहोरे पनि बुढासुब्बा गोल्डकप जित्ने लक्ष्य छ ।

सुनिल पोख्रेल ( प्रशिक्षक )  : बेलबारी फुटबल क्लब मोरङ
बेलबारीका खेलाडीहरु शारिरीक हिसाबले साना भएको र खेल अनुभव पनि कम भएकोले हार बेहोर्नुपर्यो ।

भोलीको अन्तिम क्वाटर फाईनल खेल मछिन्द्र क्लब काठमाण्डौ र सन्ध्या फुटबल क्लब कोलकत्ता भारत बिच हुने आयोजकले जनाएको छ ।